कला/साहित्य

हिउँद

फुलेको छ बारी घरै छेउ माली
फलै अन्न बाली गरा आली आली ।
छ आकाश नीलो चिसो याम जाम
लुकाएर वर्षा उदाएछ घाम ।१।

दिनै भा’छ छोटो छिटै रात लामो
सयौं रोज एकै कहाँ हुन्छ न्यानो ?
तुँवालो तराई बियालो छ दृष्टि
बिहानै छ लाली फिंजाएर सृष्टि ।२।

हिमाली हियामा पहाडी उकालो
जडेझैं सितारा छ घुम्टो उज्यालो ।
नदीको किनारा छ कौमार्य वेदी
छ यायाबरी नागबेली छ जोडी ।३।

सुसेलो पसेलो सिरेटो तनैमा
सुनौलो रुपौलो उघारो मनैमा ।
उचालौं धरा यो र गाऔं यशस्वी
उघारेर बस्ती पुकारौं प्रशस्ति ! ।४।
*                  *                  *
पदम दाहाल
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *