रिबन

नेतृत्वका आकांक्षीको अनुहार

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने चरणमा रहेको छ । यसक्रममा धेरै आरोह अवरोह सामना गर्नु परेको तथ्य हामी देखिरहेका छौं । एकै चरणमा सम्पन्न गर्नुपर्ने कार्यतालिकामा धेरै तलमाथि हुन गएको देखिन्छ । अधिवेशनका कार्यक्रमहरुमा एकपक्षले अर्को पक्षलाई असहयोग गरेको, जसरी पनि पार्टी आफ्नो मात्र कब्जामा हुनुपर्छ भन्ने मान्यता, मानसिकता र संस्कृति विकास भएको, व्यापक धाँधली, चलखेल, लेनदेन कारोबार मात्र होइन जहाँजस्ले सक्छ उसले नै एकलौटी गर्न चाहेको, गरेको प्रत्यक्ष अनुभव भएको छ । पार्टी बनाउने, देशको मुहार फेर्ने तथा वैचारिक मार्गमा फर्कने सम्भावना धेरै कमजोर देखिन्छ ।

जे जस्तो दृश्य अधिवेशनमा देखिँदैछ, पात्र र प्रवृत्तिजस्ता आउँदैछन्, आएका छन् । उनीहरुले भनिएको जस्तो र चाहेको रुपको रुपान्तरण लगभग असम्भव नै छ । तलैदेखि बिग्रिएको संरचना र मानसिकताले माथि सच्चाउँछ वा सुधार आउँछ भन्ने कल्पना मिथ्या नै हो । कुनै पनि दृष्टिकोणले रुपान्तरण सम्भव देखिँदैन । पद प्राप्तिका लागि कुनै न कुनै किसिमले बद्मासी गरेको, गर्न सक्ने वा त्यसमा दख्खल भएको व्यक्ति नै रोजाइमा र खोजाइमा परेको छ। नेतृत्वमा आउने, ल्याउने र खुवाउने एकै वर्ग र सोचको भएपछि सैद्धान्तिक, वैचारिक विषय ओझेलमा गर्नु अन्यथा होइन । निर्वाचित भएर आएका र माथिको पदमा आकांक्षा राख्नेहरुको पृष्ठभूमि र अनुहार हेर्दा लाग्छ राजनीति गलत मानिसको हातमा गइसक्यो । जसले बुझेर राजनीति गरेको हो, त्यो वर्ग आउन नै नसक्ने, जसले लुट्नको लागि वा त्यसबाट संरक्षणको लागि राजनीतिलाई रोजेको हो, उसको आकर्षण बढ्दै गएको र त्यो प्रवृत्तिलाई स्वार्थी नेतृत्वले रुचाएको कारण लोकतान्त्रिक प्रणालीप्रति जुन विश्वास र लगाव आम मानिसको हुनुपर्ने हो त्यो नभएको देखिन्छ ।

इच्छाशक्ति नभएको काम चलाउ, यथास्थितिवादी सोच र चिन्तनबाट माथि उठ्न नसक्ने अतिआत्मकेन्द्रित व्यक्तिबाट सक्षमताको प्रतिफल र परिणाम आउँछ भन्ने कल्पना नै व्यर्थ हो ।

वर्तमान राजनीतिक नेतृत्वले अराजकता, आफैले र अनिश्चितता रुचाएको देखिन्छ । बहुमत गुमाउने, अल्पमत चलाउने, वैधानिक बाटो अवरोध गरेर चोर बाटो खोज्ने, मूल ढोका बन्द गरेर जस्केला वा झ्यालबाट पस्न खोज्ने प्रवृत्ति फस्टाउँदै जानु र त्यसलाई स्वागत गर्ने नेतृत्व हुनु, न्यायिक अराजकताको अवस्थाप्रति उदासिन बन्नुजस्ता विशेषताहरु भएको नेतृत्वबाट खै के आशा राख्ने ? समस्याको समाधान, दीर्घकालीन दृष्टिकोण आम मानिसको आस्था र विश्वासको विश्लेषण, भावी कार्यक्रम र राजनीति, विदेश नीतिजस्ता विषयमा छलफल नै गर्न नसक्ने, त्यसमा प्रवेश नै नचाहने, सामान्य जानकारी र ज्ञानसमेत नभएको व्यक्तिलाई लोभमा फसाएर आफू अनुकूलको बनाउने चाहना राखी अधिवेशनको औपचारिकता परा गरेको पनि देखिन्छ । यस कार्यले राजनीतिक रुपमा अपेक्षा गरिएको वातावरण निर्माणमा नेतृत्व इच्छुक छैन भन्ने स्पष्ट गर्दछ । इच्छाशक्ति नभएको काम चलाउ, यथास्थितिवादी सोच र चिन्तनबाट माथि उठ्न नसक्ने अतिआत्मकेन्द्रित व्यक्तिबाट सक्षमताको प्रतिफल र परिणाम आउँछ भन्ने कल्पना नै व्यर्थ हो । त्यसतर्फ नेपाली राजनीति फर्कन नसक्ने दृश्य सतहमा देखिन्छ ।

सभापति शेरबहादुर देउवा विरोधी खेमामा सहमति भएन भन्ने समाचार आएको छ । कांग्रेस वृत्तमा भने एमालेमा ओलीका विरुद्ध उम्मेदवारी दिने व्यक्ति निस्कन्छ, निस्कदैन भन्ने निश्चित छैन । धेरै सम्भावना ओली निर्विरोध हुने नै छ । ओलीको निरन्तरता वा देउवाको किन भन्ने स्पष्ट अवधारणा छैन । आफ्नो स्वार्थका खातिर उहाँहरुको पक्ष र विपक्षीमा आवाज उठ्ने गर्दछ । तर समग्र राजनीतिक रुपान्तरणको कार्यक्रम आकांक्षीहरुसँग छैन । समाचारहरुमा आएजस्तो गएको अधिवेशनमा मैले सहयोग गरेको थिएँ, यो पटक मेरो पालो हो भन्ने मात्र दाबी छ । देउवालाई हराउने म मात्र हो, अरुले सक्दैन, त्यसैले मैले पाउनुपर्छ वा मेरो नाममा सकेको सबैको सहमति भए ठीक छ, होइन भने मेरो अपरिहार्यता छ भन्नेभन्दा थप र नयाँ कुरा आएको छैन । अझ नेपाली कांग्रेस त आफ्नो वैधानिकता जोगाउने बाध्यात्मक महाधिवेशनको अवस्थाबाट गुज्रिएको छ । जहाँ नीति, कार्यक्रम र छलफलको कुनै गुन्जायस नै देखिँदैन । देउवा निधिलाई मिलाउने कसरतमा देखिन्छन् भने देउवाविरोधी खेमा विभाजित देखिन्छ । कोइराला बन्धुहरुकै मुख नमिलेको समाचार आएको छ । निश्चित भएको पत्रकार सम्मेलन स्थगित गरी बीपी पुत्र शशांक कोइराला संखुवासभा पुगेर आफू बलियो उम्मेदवार भएको उद्घोष गर्दछन् ।

सर्लाहीमा शेखरदा नै हाम्रो उम्मेदवार हुनुहुन्छ, प्रकाशमानजीलाई काठमाडौं बाहिर चिन्दैनन भन्ने अभिव्यक्ति दिएका महामन्त्री कोइराला किन ‘यूटर्न’ गरे भन्ने अखबारे विश्लेषण प्रारम्भ भएको छ । समयमा लिनुपर्ने आवश्यक निर्णय लिन नसक्ने अनि निर्ण आइसकेपछि यसो भयो, उसो भयो भन्नुको के अर्थ हुन्छ र ? रामचन्द्र पौडेलजस्ता वरिष्ठ नेतालाई स्वीकार गर्न सकिँदैन भन्ने स्पष्ट जवाफ प्रकाशमान सिंहबाट आइसकेको छ । यसरी हेर्दा कांग्रेसमा देउवा, निधि, प्रकाशमान र शेखरको बीचमा प्रतिस्पर्धा हुने अवस्था देखिन्छ । त्यसो भएमा रामचन्द्र पौडेलले कसलाई सहयोग गर्नुहोला ? यो अहं सवाल पनि खडा भएको देखिन्छ । प्रतिस्पर्धाका लागि प्रतिस्पर्धा वा पदका लागि प्रतिस्पर्धा हो ? त्यसको जवाफ आउँला नै । तर पौडेल समूहबाटै एउटा उम्मेदवार नहुनु भनेको देउवालाई सभापति बनाउनु नै त हो नि ? जसले जे भने पनि वातावरण त देउवाकै पक्षमा बन्दै गएको देखिन्छ । के नेतृत्वको रुपान्तरण वा पुस्तान्तरण भनेको आफ्नो लागि मात्र हो ? विचार, सिद्धान्त, नीति र आदर्श अनि निष्ठा समाप्त भएपछि व्यक्तिवाद र स्वार्थ निर्णायक हुन्छ । स्वार्थ पूरा गराउन तलदेखि माथिसम्म बनाइएको संरचना र तयार भएका पात्र र प्रवृत्तिले जनताको आशा, विकास र भरोसाको प्रतिनिधित्व गर्छन् भन्ने पटक्कै लाग्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *