राजनीति

कांग्रेस काठमाडौंमा सबुज र उपेन्द्रबीच टक्कर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोलि शुक्रबार हुने काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशनमा सभापति पदमा कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

बानियाँ काठमाडौंका बहालवाला सभापति समेत हुन् । उनी फेरि एक कार्यकाल सभापति पदमा दोहोरिन चाहेका छन् । बानियाँ नेता प्रकाशमान सिंहनिकट मानिन्छन् ।

काठमाडौं कांग्रेसमा सिंह र युवा नेता गगनकुमार थापाको प्रभाव देखिएको छ । युवा नेता थापाले समेत बानियाँलाई नै समर्थन गर्ने भएका छन् ।

अर्का उम्मेदवार कार्की सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट संयुक्त रुपमा सभापति पदमा उम्मेदवार हुने भएका छन् ।

कांग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रमा सिंह र थापा नेतृत्वले अधिकांश स्थान जीत हात पारेको छ । सभापति बानियाँलाई एक कार्यकाल सभापति बनाउने सिंह–थापा पक्षबीच यसअघि नै सहमति भएको हो ।

कार्कीले बिहीबार बसुन्धारामा पत्रकार सम्मेलन गरेर काठमाडौं सभापति उठ्ने घोषणा गर्ने भएका छन् । एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा कांग्रेसले मंसिर १० गते शुक्रबारका लागि जिल्ला अधिवेशन गर्दैछ ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा मंसिर ६ गते नै जिल्ला अधिवेशन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *