समाचार

जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

जनकपुर । जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज (बुधबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुन र नगदसहित दुई युवक पक्राउ

प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *