विचार

नेपाली राजनीतिका भीमबहादुरहरु

अधिकांश राजनीतिक दलले आफ्नो पार्टीले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा अति आदर र सम्मानका साथ स्वीकार गरेका राजनीतिक व्यक्तित्व नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङ असल नेताको रुपमा सुपरिचित नाम हो । उहाँको नाम सबैले लिने गर्छन् र काम चाहिँ गर्न तयार हुँदैनन । त्यो व्यक्तित्वलाई आ–आफ्नो किसिमले बुझ्ने कुरा स्वभाविक नै भए पनि राजनीतिक संस्कार र संस्कृतिको दृष्टिकोणले एउटा साधारण व्यक्ति भएर असाधारण व्यक्तित्व निर्माण हुनसक्छ भन्ने चेतना विकास र सञ्चार गर्न सिंगो नेपाली राजनीति असफल भएको छ । भीमबहादुर तामाङ र उहाँजस्ता धेरै राजनीतिकर्मीहरु जसले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गरेका छन्, उनीहरुलाई सम्झने सम्मान गर्ने तथा राजनीतिक जीवनमा उतार्ने सन्दर्भमा पनि नेपाली राजनीति बेखबर छ । सत्ता र शक्तिमा आबद्ध र अव्यस्त भएपछि जिम्मेवारी निर्वाहा ज्यादै गौण विषय बन्दो रहेछ भन्ने अनेकौं दृष्टानतहरु मधये परिवर्तनका लागि प्राण उत्सर्ग गरेका र त्यसको प्राप्तिका निम्ति त्याग, तपस्या र योगदान पु-याएका व्यक्तित्वहरुप्रति कठोर बननु पनि एउटा महत्वपूर्ण उदाहरण बनेको छ ।

संयोगले कांग्रेसका नेता भीमबहादुर तामाङकै थाँतथलोमा हुर्किने, बढ्ने र केही सिक्ने बुझ्ने परिवेशमा गर्न गएको प्रभाव र उहाँप्रतिको आस्था विश्वास र सम्मानलाई अभिव्यक्त गर्ने प्रयोजनका निम्ति नै भए पनि स्मरणमा अनगिन्ती घटनाक्रम आउँछन् । व्यक्ति, व्यक्तित्व, परिस्थिति र परिवेशको तुलनात्मक अध्ययन र विश्लेषण हुनसक्छ । परिवर्तनका लागि धेरै कुरा त्याग गरेका तामाङजस्ता व्यक्तिहरुले परिकल्पना गरेको राजनीतिक आधार निर्माण हुँदै गएको छ वा ठीक उल्टो दिशातर्फ उन्मुख भएको छ ? यसको पनि समीक्षा नेपाली समाजले खोजेको हुनुपर्छ । स्वर्गीय तामाङलाई बुझेको समाज र त्यो समाजका हामी सदस्यहरुले यस्तो राजनीतिक संस्कार र संस्कृतिको परिकल्पना गरेका थिएनौं । भ्रष्ट र अराजक समाज निर्माणतर्फको यात्राले कतै हामीलाई दुर्घटनातर्फ त डो¥याइरहेको छैन ? तामाङजस्ता त्यागी, सादगी र साधारण नेताले बनाएको पार्टी नेपाली कांग्रेस त्यही बाटोमा छ वा बाटो नै छोडेको छ ? यस कुराको समीक्षा, विश्लेषण र छलफल पार्टीको चौधौं महाधिवेशनमा गरिदैछ वा छैन ? त्यसको आवश्यकता महसुस गर्ने, कांग्रेसको विचार र सिद्धान्तलाई बुझ्ने र बोक्ने मानिस आज कति प्रतिशत तल्लो तहबाट निर्वाचित भएर आए ? कि अधिकांश ठाउँमा पाखा लगाइयो ? यसको उचित हिसाब नेपालको राजनीतिक इतिहासले खोज्छ नै ।

म आफैले बुझ्ने जान्ने भएदेखि राजनीतिमा देखिएका पात्रहरुको लेखाजोखा गरेको छु । स्व. तामाङ हुँदासम्म जे जस्ता पात्रहरु राजनीतिमा आउने हिम्मत नै गर्दैनथे अहिले तिनीहरु निर्णायक मात्र होइन नेतृत्वमा नै आए । आफ्नो आनीबानी र व्यवहारमा परिवर्तन गर्न नचाहनेहरुले प्राप्त गरेको नेतृत्वदायी भूमिकाका आधारमा लक्ष्य हासिल गर्न सकिन्छ वा सकिँदैन ? त्यसको सम्भावना कति छ भन्ने सामान्य हेक्का राख्ने काम भएन । मूल नेतृत्वले पनि असफल होइन, खराबको आवश्यकता महसुस गरेको अनुभूति हुन्छ । राम्रो होइन, हाम्रो, असल नभएर खराब मानिसको प्रवेश जोडतोडका साथ भएको देखिन्छ । राजनीति गर्ने मानिस सरल र साधारण हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्ने तामाङजस्ता नेताहरु नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा तल्लो तहबाटै पराजित भएको देखिन्छ । नेतृत्वमा भएका व्यक्तिहरुले गुट बनाउँदा र आफ्नो बफादार मान्छे रुचाउँदा पार्टीका इमानदार र पुराना सिद्धान्तप्रति निष्ठा राख्ने र विचारको राजनीति गर्ने मान्छेले राजनीतिक स्पेस नै नपाउने डर लाग्दो परिस्थिति बनाइदैछ ।

जातीय राजनीतिले स्वरुप ग्रहण गर्न थालेको समयमा नेपाली कांग्रेसले तामाङकै संयोजकत्वमा समिति बनाएर प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनको एउटा अशं ज्यादै चर्चामा आयो । उक्त चर्चित बाक्य थियो, ‘पहिचान भेटिने, द्वन्द्व मेटिने’ । तामाङको संयोजनमा तयार भएको उक्त प्रतिवेदन आज पनि सान्दर्भिक छ । तर, त्यसको सान्दर्भिकता कागजमा मात्र सीमित गरिएको छ । त्यसको अर्थ र आवश्यकता बुझाउने काम भएको छैन । त्यसलाई उधृत गर्नेहरुले पनि व्यवहारमा देखाउन सकेको छैनन् । कांग्रेस अधिवेशनका विभिन्न चरणहरुमा देखिएको भिन्न भिन्न किसिमको समीकरण, दिइएको नारा र प्रस्तुत भएको शैलीले जुन लक्ष्य र उद्देश्यका साथ नेपाली कांग्रेसले विगतदेखि पार्टीभित्र जे जस्ता विषयमा अधययन र छलफल गराएको थियो, त्यसमा गम्भीर भएर तदनुरुपको नीति र कार्यक्रम बनाउने र नेतृत्व चयन गर्नेतर्फ प्रयास नै भएन । यी र यस्ता अनेकौ घटना, विषय र सन्दर्भ हेर्दा हामीजस्ता तामाङको राजनीतिक जीवनबाट प्रभावित मानिसहरु अगाडिको बाटो ठीक छ भन्न सक्ने अवस्थामा छैनौं । हामीले के प्राप्तिका लागि आफूलाई राजनीतिमा समर्पित गरेका हौ भन्ने हेक्कासमेत राख्न नसक्ने जमात बलशाली भएर आएको छ । सत्ता, स्वार्थ र लुटको आकर्षण देखिन्छ । राजनीति गर्ने मानिसको जीवनशैली हेरेर यो राज्यलाई खोक्रो बनाएर मोजमस्ती गर्ने, महँगो जीवन बिताउने र आफूलाई सबैभन्दा उन्नत मानिस हुँ भन्ने देखाउने पेशा रहेछ भन्ने बुझ्ने थालिएको छ ।

स्थानीय तहदेखि प्रदेश र संघसम्ममा नै त्यस्तै प्रवेत्ति हामी भएको छ । पत्याएका र हिजो त्याग नै गरेका नेताहरुले पनि आफ्नो स्वार्थको लागि व्यक्तिगत मानिस बनाए । व्यक्तिगत स्वार्थ पूरा गर्न तयस्तै मानिसको लर्को नेताहरुको घरआगानमा देखिन्छ । योग्यता पु-याउन कि पैसा प्रशस्त बनाउनु प-यो कि पाखुरा बलियो चाहियो कि त नातागोता र परिवारको हुनुप-यो । यस्तो परिवर्तनको पक्षमा स्व. तामाङ हुनुहुन्थ्यो । उहाँ साच्चै सामाजिक रुपानतरणका निम्ति निरन्तर संघर्षशील हुनुहुन्थ्यो । त्यसका निम्ति पार्टीभित्र र बाहिर लागिरहनु हुन्थ्यो । हामीले पनि त्यही सिक्यौं, बुझियो र लागियौं तर त्यसले किनाराकृत पो ग¥यो ।

कांग्रेसको चौधौं महाधिवेशनको क्रमा पुराना, इमान्दार र निष्ठावान व्यक्तिहरु जसले नेपालको लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान पु-याएका छन्, उनीहरु तल्लो तहकै अधिवेशनमा पराजित भए । उनीहरुले यथेष्ठ पैसा खर्च गर्न सकेनन्, नेतृत्वको चाकरी गरेनन, खुवाउने, पिलाउने काम गरेनन्, नीति, सिद्धान्त, विचार र निष्ठाको राजनीति गरे । त्यसकै निम्ति सम्पूर्ण कुरा त्याग गरेका पनि थिए । तर आज हिजोको निष्ठापूर्ण आन्दोलनको अर्थ नबुझेर तयस्ता पात्रहरुलाई तल्लो तहबाटै अलग्याउने काम भयो । अर्कै लक्ष्य र उद्देश्यका साथ राजनीतिमा आएको वर्गले वास्तविक राजनीतिलाई विस्थापित गर्दैछ । स्वार्थ, भागवण्डा र लेनदेनको स्वार्थी र जालझेलपूर्ण संकीर्ण राजनीति चल्दैछ । जसले व्यवस्था र अवस्थामा परिवर्तन आउँदैन । तामाङ यस्तो पक्षमा थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *