राजनीति

अबका सबै चुनावमा काँग्रेसको बहुमत: सहमहामन्त्री डा महत

हेटौँडा । नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले अबका सबै निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । बाग्मती प्रदेश कांग्रेसको महाधिवेशनलाई बिहीबार हेटौँडामा सम्बोधन गर्दै डा.महतले तर यसका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले अब अर्जुन दृष्टि राखेर काम गर्नुपर्ने बताए ।

सह-महामन्त्री डा.महतले भने, ‘आउने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर काम गर्‍यौँ भने हाम्रो जित सुनिश्चित छ । कम्युनिस्टको नक्कली कुरालाई परास्त गर्न सक्नुपर्छ ।’

उनले कांग्रेसले लाखौं जनतालाई सक्रिय बनाएर महाधिवेशन गरेको यो अभ्यास संसारकै एक प्रजातान्त्रिक अभ्यास भएको उनको दाबी थियो ।
एमालेप्रति संकेत गर्दै नेता डा.महतले भने, ‘अरु दलहरूको पनि महाधिवेशन भएको छ । लोकतान्त्रिक प्रक्रिया गर्न दिइएन, हेरौँ न निर्वाचनमा उठ्न पाउने अधिकारकै लागि कति हंगामा भयो, तर हाम्रो हेरौँ त देशव्यापी रुपमा कति लोकतान्त्रिक अभ्यास भएको छ ?’

‘हामीले पार्टीमा लोकतान्त्रिक प्रक्रियालाई भरपुर अवसर दिएका छौँ । अधिवेशन गरेका छौँ’, सह-महामन्त्री डा.महतले ‘हाम्रो पार्टीको निर्वाचन प्रणाली चुनौती र अवसर दुबै हो । ’सह-महामन्त्री डा.महतले कांग्रेसभित्र व्यक्ति होइन विचार केन्द्रित राजनीति अगाडि बढाउनुपर्छ र विचार तथा सिद्धान्तमा राजनीति गर्नुपर्छ भने ।

उनले भने नेपाली जनताको आग्रहपछि नै सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनु भएको भन्दै यो संयुक्त सरकार भएकाले हामीले चाहेजति काम गर्न नसक्ने अवस्था पनि हुनसक्छ, अर्को निर्वाचन जितेर हाम्रै सरकार बनेपछि देश विकासको अवसर जुट्ने बताए ।

मकवानपुर जिल्लामा कमजोर रहेको कांग्रेस बलियो बनाएको भन्दै इन्द्रबहादुर बानियाँको प्रशंसा पनि उनले गरे । सह-महामन्त्री डा.महतले आगामनी निर्वाचनमा बानियाँको नेतृत्वमा बाग्मती प्रदेशभरि कांग्रेसलाई सबै तहमा जिताउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *