रिबन

कांग्रेसको प्रदेश अधिवेशन : सभापति देउवा र नेता सिटौला एकठाउँ !

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन शुरु भएको छ । आजबाट शुरु भएको अधिवेशन मंसीर १८ गतेसम्म चल्नेछ । नेपाली कांग्रेसको इतिहासमै पहिलोपटक कांग्रेसको प्रदेश समितिको चुनाव हुन लागेको हो । संघीयताको अभ्यास शुरु भएपछि कांग्रेसको पहिलोपटक प्रदेश अधिवेशन हुन लागेको हो । शुक्रबार मनोनयन दर्ता हुने र शनिबार चुनाव हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रदेश नम्बर एकमा प्रदेश अधिवेशनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला समुहले सहकार्य गरेका छन् । प्रदेश नम्बर एकमा सभापति देउवा पक्षले सिटौला पक्षका सभापतिका उम्मेदवारलाई समर्थन गरेका छन् । सिटौला समुहका नेता उद्धव थापा र संस्थापन इतर समुहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश नम्बर दुईमा भने अधिवेशन शुरु भएको भएपनि उम्मेदवारको टुंगो लागेको छैन । बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र वानिया र इतर समुहबाट जगदिश्वरनरसिंह केसीसहित कृष्ण सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

गण्डकी प्रदेशमा भने संस्थापन समुहबाट पर्वतका अर्जुन जोशी र इतर समुहबाट शुक्रराज शर्माका बिचमा प्रतिस्पर्धा हुने भएको छ । लुम्बिनि प्रदेशमा भने संस्थापन इतर समुहले रोल्पाका अमरसिंह पुन र संस्थापन समुहका तर्फबाट रुपन्देहीका भरत शाहका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

कर्णाली प्रदेशमा अहिलेसम्म सभापतिका प्रतिस्पर्धीको नाम टुंगो लागिसकेको छैन भने सुदुरपश्चिम प्रदेशमा समेत उम्मेदवारको टुंगो लागिसकेको छैन । कांग्रेसले प्रदेश अधिवेशन गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मा दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *