रिबन

मुख्य समाचार : संसद आह्वान, राप्रपा अधिवेशन जारी, कांग्रेस पनि महाधिवेशनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंसीर २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन शुरु भएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले कांग्रेसको अधिवेशनपछि स्थानीय तह, प्रदेश र संघको चुनाव हुने भन्दै त्यसको तयारीमा लाग्न समेत निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन स्थगित भएको छ । अहिलेसम्म पनि जिल्ला अधिवेशन शुरु गर्न नसकेका १६ जिल्लामा अधिवेशन स्थगित गर्ने निर्णय केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लामा अब केन्द्रीय महाधिवेशनपछि मात्रै अधिवेशन शुरु हुने समितिले जानकारी दिएको छ ।

राप्रपाको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् । बुधबारबाट शुरु भएको राप्रपाको अधिवेशनअन्तर्गत शुक्रबार उम्मेदवार मनोनयन हुने र शनिबार चुनाव गर्ने तयारी छ ।

सत्तारुढ गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा लामो विदा बस्न आग्रह गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा देखिएको विवादकै बिचमा सत्तारुढ गठबन्धनले राणालाई निकास दिन आग्रह गर्ने निर्णय गरेको हो । तर प्रधानन्यायाधीश राणाले भने विदा नबस्ने स्पष्ट पारेका छन् । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया शुरु भएको भएपनि अदालतमा देखिएको समस्या भने अझै पुर्ण रुपमा समाधान भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *