खेलकुद

आर्मीविरुद्ध अप्रत्यासित नतिजा दिने दाउँमा बीबीसी

काठमाडौं । शीर्ष डिभिजन लिग सुरुहुँदै गर्दा ४ क्लबले उपाधिमा दाबेदारी प्रस्तुत गरेको थिए । त्यसमध्ये एक हो, विभागीय त्रिभुवनआर्मी फुटबल क्लब । सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भयो । तर साविक उपविजेता आर्मीले तयारी र योजनाअनुसार नतिजा र प्रदर्शन दुबै दिन सकेन ।

लिगको तेस्रो चरणमा आज (आइतबार) आर्मीले पेपरमा कमजोर मानिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने दिनको एकमात्रै खेल साझ पौने ५ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अंक बाँडेको थियो । समग्रमा दुबै खेल आर्मीले आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएको थियो ।

पहिलो खेलमा विभागीय नेपाल पुलिससँग १–१ अन्तरले बराबरी खेल्दै अंक बाँडेको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्न बाध्य भयो ।

लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । विगतले समेत त्यहीँ देखाएको छ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।

‘विपक्षीलाई कमजोर मान्नु हुन्न । हामी आफ्नो खेल खेल्दै तीन अंक लिने प्रयासमा गर्नेछौं,’ आर्मीका सहायक प्रशिक्षक राजु तामाङ भन्छन् ।

लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । नवयुगलाई गुमाएको आर्मी अर्का स्ट्राइकर सुदिल राईलाई समेत चोटका कारण पाउने छैन ।

बीबीसीविरुद्ध आर्मीले अग्रपंक्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ ।

यता, बीबीसीसमेत युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ । नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ । २ खेल खेलेका उसले १ जित र १ बराबरसहित ४ अंक जोडेको छ ।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *