विश्व

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनाः रावतको कुनै खबर छैन

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा ४ अधिकारीको मृत्यु भएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन । हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन् ।

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । हेलिकप्टरमा विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिंदर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एलरएनके विवेक कुमार, एलरएनके बी साई तेजा, हवलदार सतपाल सवार थिए । साथै, दुई जना पाईलट पनि रहेका थिए ।

अहिले दुर्घटनास्थलमा चिकित्सकको टोली पठाइएको छ । घटनास्थलमा सेनाका अधिकारी पनि छन् । ८० प्रतिशत जलेको २ शव निकालिएको छ । उनीहरुको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड मुनिबाट अझै केही शव देखिन्छन् ।

दुर्घटनाको कारणबारे सबै किसिमका अड्कलबाजी भइरहेको छ । खराब मौसम र बादलका कारण हेलिकप्टरका पाइलटले सही अनुमान गर्न नसकेर यो दुर्घटना भएको बताइएको छ । अब कोर्ट अफ इन्क्वायरी हुन्छ, त्यसपछि मात्र दुर्घटना के कारणले भएको हो थाहा हुन्छ ।

जनरल रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *