ताजा समाचार

अस्तव्यस्त खोप अभियानः पहुँच हुनेले लगाए ‘बुस्टर डोज’


काठमाडौँ । सुमन (नाम परिवर्तन) पेसाले स्वास्थ्यकर्मी हुन् । निजी अस्पतालमा कार्यरत उनले दुई साताअघि नै कोरोनाविरुद्धको तेस्रो मात्राको खोप लगाइसके । ‘सधैं संक्रमित बिरामीको उपचार गर्नुपर्छ, ओमिक्रोन झन् संक्रामक छ,’ ३० वर्षीय उनले भने, ‘सरकारले कहिले दिने हो टुंगो छैन, त्यही भएर लगाइहालेको ।’ उनले अनलाइन फाराम नै नभरी खोप लगाएका रहेछन् ।

४५ वर्षीया विनीता ९नाम परिवर्तन० सरकारी कार्यालयमा कार्यरत छिन् । उनी र उनका केही साथीले पनि तेस्रो मात्राको खोप लगाइसके । ‘सरकारले दिने त भनेको छ, तर कहिले पालो आउने हो,’ विनीता भन्छिन्, ‘हामीले त पहिलो डोज भनेर ढाँटेर लगायौं ।’

यी दुई उदाहरणजस्तै अधिकांश सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, उच्च ओहदाका कर्मचारी, नेता तथा मिडियाकर्मीले समेत तेस्रो मात्रा लुकीछिपी लगाइरहेको पाइएको छ । पहुँच हुनेले तेस्रो मात्रा लगाइसक्दा पनि सरकारी संयन्त्रले भने पहिलो र दोस्रो मात्रा लगाएकाहरूको रेकर्ड दुरुस्त राख्न सकेको छैन ।
बिहीबारसम्मको तथ्यांक हेर्दा कुल जनसंख्याको ५०।९ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने पूर्ण खोप लगाउने ३८।५ प्रतिशत मात्र छन् । लक्षित जनसंख्याको ७७।६ प्रतिशतले पहिलो र ५८।७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । पहुँचवालाले लुकीछिपी खोप लगाइरहेकाले सरकारको यो तथ्यांकलाई सही मान्न सकिन्न । किनकि तेस्रो मात्रा लगाए पनि उनीहरूले पहिलो वा दोस्रो मात्रा लगाउन आएको भनेर ढाँटेका छन्, जसले तथ्यांकमै गडबडी देखिन्छ ।

२०७७ माघ १४ मा खोप अभियान सुरु भएकामा करिब ६ महिनापछि मात्र अनलाइन दर्ता गरेर खोप लगाउने व्यवस्था गरिएको हो । खोपका लागि सरकारले गत साउनबाट अनलाइन फाराम अनिवार्य गरेको छ । त्यसअघि केन्द्रमै नाम टिपेर खोप लगाउने गरिएको थियो ।

सरकारले अनिवार्य अनलाइन दर्ता गर्न भने पनि केन्द्रमा दर्ता भएको नाम भेरिफाई गर्ने सिस्टम भने छैन । सेवाग्राहीले लिएर गएको अनलाइन फाराम हेरेकै भरमा भटाभट खोप दिइँदै छ । कुन व्यक्तिले कति मात्राको खोप लगाउँदै छ भन्ने संयन्त्रै नहुँदा खोप अभियान अस्तव्यस्त बनेको छ ।

भारतमा पनि खोप लगाउनका लागि ‘कोविन’ नामक अनलाइन पोर्टल छ, जसमा दर्ता नगरी खोप लगाउन पाइँदैन । सबैजसो देशले अनलाइन दर्ता गरेर मात्र खोप लगाउने नियम बनाएका छन् । तर नेपालमा भने प्रणालीमा प्रविष्ट गरेको विवरण रुजु गर्ने व्यवस्था छैन । लुकीछिपी आफूखुसी खोप लगाउनेको संख्या बढ्दै गएको छ । केही समयअघि बीबीसीले लेखेको एक समाचारमा बिहारका ६५ वर्षीय वृद्धले ११ पटकसम्म खोप लिएको उल्लेख थियो ।

कान्तिपुरमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *