समाचार

कालीकोटमा माघी उत्सव : ‘चेली तिहार’ का रुपमा मनाइन्छ माघी

मान्म । कालीकोटमा फरक शैलीमा माघी पर्व मनाउने गरिन्छ । परापूर्वकालदेखि माघीलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको भएपनि कर्णालीका कालीकोटमा यो पर्वमा आफ्ना चेलीलाई कोसेली दिएर ‘चेली तिहार’ का रुपमा मनाउँदै आएको छ ।

माघीका अवसरमा छोरीचेलीहरुलाई हरियो पोकामा कोसेली दिएर ‘चेली तिहार’ का रुपमा मनाउने चलन छ । परापूर्वकालदेखि चल्दै आएको ‘चेली तिहार’ मा १५ दिनसम्म छोरीचेलीहरुलाई कोसेली दिने गरिन्छ कोसेलीमा विभिन्न खाद्यान्नका परिकार हुन्छन् ।

घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई यहाँ सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन समारोहको आयोजना गरी पनि मनाउने गरिन्छ ।

धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको कर्णाली संस्कृतिका जानकार चन्द्रप्रसाद कोइरालाले बताउनुभयो । “कर्णालीमा अन्य ठाउँभन्दा फरक शैलीमा माघी मनाउने चलन छ”, उनले भने, “धार्मिक मान्यताअनुसार माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर कर्णालीमा छोरीचेलीलाई कोसेली दिने चलन छ ।”

धार्मिक मान्यताअनुसार कर्णालीमा माघ महिनामा कपाल काट्न र खौरिन नहुने, बली दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको संस्कृतिक जानकार कोइरालाको भनाइ छ । “घरबाट टाढा टाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्याउने चलन छ”, उनले भने, “चेलीलाई विशेष महत्व दिएर मनाइने भएकाले यो पर्वलाई चेली तिहारका रुपमा मनाइने गरिएको छ ।” माघलाई पवित्र महिनाका रुपमा मानिने भएकाले कर्णालीमा यो महिना मारकाट पनि गरिँदैन् ।

यो पर्वका अवसरमा विवाह गरिसकेका दिदीबहिनीका लागि कोसेली छुट्याउने र माघ महिनाभरि नै माइतीपक्षले उनीहरुका लागि कोसेली पठाउने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *