
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–३ तुसारपानीमा वर्षाका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनाले निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेका बेला दार्चुला तिंकर सडक आयोजनाले तुसारपानी क्षेत्रमा सडक मर्मतको काम सुरु गरेको छ ।
आयोजनाले अवरुद्ध सडक खोल्ने काम गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिंकर सडक आयोजनाका प्रमुख आशुतोष कर्णले बताए ।
‘तुसारपानी क्षेत्रमा अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । १५–२० दिनमा सेनालाई सडक पास दिन्छौ’, उनले भने । वर्षादमा तुसरपानी तथा गाणारुख क्षेत्रमा सडक क्षतविक्षत बनेको छ ।
सरकारले पछिल्लो समय दार्चुला तिंकर सडक अन्र्तगत तुसारपानी फतङगाड देखि कोठेधार सम्मको चार किलोमिटर थप सडकको जिम्मा नेपाली सेनालाई दिएको छ ।
सरकारले नेपाली सेनालाई सुरुमा ८७ किलोमिटर र हाल थप चार किलोमिटर गरि ९१ किलोमिटर सडक निर्माणको जिम्मा दिएको छ भने ४३ किलोमिटर सडक निर्माण दार्चुला तिंकर सडक आयोजनाले गरिरहेको छ ।
दार्चुला तिंकर सडकखण्डमा फतङगाडदेखि तिंकरसम्म नेपाली सेनाले काम गर्ने तथा त्योभन्दा तल्लो क्षेत्रमा आयोजनाले काम गर्ने कर्णले जानकारी दिए ।
सडक अन्तर्गत ब्याँस गाउँपालिकाको तुसारपानीदेखि कोठेधारसम्मको ७ किलोमिटर सडकमा ठेक्का तोडिएको थियो । जसमध्ये ठेक्का तोडिएको अमर सूर्य जेभी निर्माण कम्पनीले तीन किलोमिटर क्षेत्रमा ट्रयाक खुलाएको छ भने बाँकी चार किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको हो ।
सेनाले सुरुमा निर्माणको जिम्मा पाएको कोठेधारसम्म सडकको ट्रयाक नखुलाइएको हुँदा त्यस क्षेत्रमा सडक निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामाग्री ढुवानी गरेको थियो ।
दार्चुला सदरमुकामदेखि सुन्सेरासम्म ४३ किलोमिटर क्षेत्रमा चारवटा निर्माण कम्पनीहरूसँग सम्झौता भई सडक निर्माणको काम भइरहेको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि दार्चुलासम्म ३३४ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउनका लागि ठेक्का भइसकेको आयोजना प्रमुख कर्णले बताए ।
महाकाली करिडोर अन्तर्गतको दार्चुला तिंकर सडक आयोजनाले चालु आर्थिक वर्षको हालसम्म १७ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्षको आठ महिनासम्म कार्यालयले १३ करोड ६७ लाख २० हजार पुजीगत बजेट खर्च गरेको लेखापाल भुपालसिह कार्कीले जानकारी दिए । चालु आर्थिक वर्षमा यस सडकखण्डमा कुल ७९ करोड ४२ लाख बजेट रहेकोमा पछिल्लो समय सरकारले १२ करोड बजेट काटेर ६७ करोड ४२ लाख कुल बजेट रहेको कार्कीले बताए ।