सम्पादकीय

जनमतले देखायो कांग्रेस फेरि पहिलो पार्टी

देशभरबाट स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्ने पक्का भएको छ । कांग्रेस अघिअघि एमाले पछिपछि छ । माओवादी केन्द्र तेस्रो पार्टी बन्ने बाटोमा छ । चुनावी नतिजा आउन अझै एक साता लाग्ने देखिए पनि प्रारम्भिक परिणामले कांग्रेसले यसपटक आफूलाई जबर्जस्त ‘कम ब्याक’ गराउन सफल भएको छ ।
जसमा प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ महत्वपूर्ण मानिएको छ ।

अघिल्लो निर्वाचनमा पनि कांग्रेसले राम्रै मत हासिल गरेको हो । त्यसबेला एमाले अध्यक्ष केपी ओलीको बोलवाला हुँदा पनि कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेको थियो । ठूलो पार्टी बनेको एमालेले दुई सय ९८ स्थानीय तह जितेको थियो । यसपटक कांग्रेसले करिब तीन सय स्थानीय तह जित्ने प्रक्षेपण गरिएको छ । कांग्रेसको यो सफलतामा पाँचदलीय गठबन्धन पनि कारक भएको सबैले विश्लेषण गरेका छन् ।

हिजो चुनावमा एक्लै जानुपर्छ भन्ने कांग्रेसका केही नेताहरू पनि देशव्यापी रूपमा कम्युनिस्टहरूसँग जुध्न गठबन्धन गर्नु सही भएको निष्कर्षमा पुगेका छन् । यदि कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन नगरेको भए एमालेले तालमेल गर्ने रहेछ भन्ने त चुनावी मत परिणामले नै पुष्टि गरेको छ ।
यसपटकको निर्वाचनमा माओवादीले फेरि आफूलाई तेस्रो शक्तिका रूपमा उभ्याएको छ । माओवादीलाई माइनस गरेर अघि बढ्न कांग्रेस र एमालेलाई त्यति सहज छैन । किनभने अहिले माओवादीले कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गरेरै धेरै स्थानमा जित हात पारेको छ । त्यसमा केही योगदान कांग्रेससँगको सहकार्य रहेको प्रचण्डले अनुभूति गरिसकेका छन् ।

कांग्रेसले यसपटक आफूलाई पहिलो शक्तिका रूपमा स्थापित गर्दैगर्दा बागी र स्वतन्त्र उम्मेदवार बाधक देखिए । गठबन्धनका कारण कांग्रेसले आफ्नो जनाधार भएको क्षेत्रमा पनि अरु पार्टीलाई छाडिदिनुपर्ने अवस्था आयो । जसकारण कांग्रेसका धेरै बागी उम्मेदवार देखिए । तर, ती बागी उम्मेदवारमध्ये केहीले चुनाव जितेका छन् भने केही जित्ने अवस्थामा छन् । त्यसैले पार्टी नेतृत्वले अर्कोपटकको चुनावमा स्थानीय जनाधार बनाएका नेता कार्यकर्तालाई टिकट दिनुपर्ने देखिन्छ ।

पहिलो दल बनेर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जान कांग्रेसलाई धेरै सजिलो भएको छ । अघिल्लो निर्वाचनमा पराजित भएर जाँदा कांग्रेसले सोचे जस्तो नतिजा हात पारेको थिएन । तर यसपटक भने कांग्रेसले गठबन्धन नै गरे पनि आफू ठूलो दल बन्ने र सरकार बनाउन पुग्ने जनमतसहित तालमेल गर्नुपर्ने धेरैको भनाइ छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *