
काठमाडौं । काभ्रे र दोलखालाई एमालेको गढ मानिन्थ्यो । तर, पटकको निर्वाचनमा दुवै जिल्लामा एमाले रक्षात्मक अवस्थामा पुगेको छ । काभ्रेमा त अहिलेसम्म एमालेले खाता नै खोल्न सकेको छैन । दोलखामा मैलुङ र जिरी नगरपालिका जितेको छ ।
अघिल्लो स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले दोलखामा अत्यधिक बहुमत हासिल गरेको थियो । स्थानीय तहमा एमालेको बहुमत थियो । प्रदेश र संघीय सांसद एमालेकै थिए । एमालेका पार्वत गुरुङले ३० हजार मतान्तरले कांग्रेसलाई हराएका थिए ।
तर, यसपटक धेरै भोट पाएर मात्तिएको एमालेलाई दोलखालीले साइजमा ल्याएको छ । एमालेले दोलखामा एकपछि अर्को स्थानीय तह हार्ने क्रम जारी छ । अधिकांश स्थानीय तहमा कांग्रेसले किल्ला जमाएको छ ।
दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख ३० वर्षपछि पहिलोपटक कांग्रेसले जितेको छ । सदरमुकाम चरिकोटसहित समेटिएको भीमेश्वरमा बहुदल आएर स्थानीय चुनाव सुरु भएयता कांग्रेसले पहिलोपटक जितेको हो । भीमेश्वरमा कांग्रेसबाट ईश्वरनाथ मानन्धर पहिलो नगर प्रमुख बन्न सफल भएका छन् । दोलखामा कांग्रेसले बैतेश्वर नगरपालिका, कालिञ्चोक जितिसकेको छ ।
७० करोड रुपैयाँ बार्गेनिङ काण्डमा सञ्चारमन्त्रीबाट पदच्यूत भएका गोकुल बासकोटाको गृहजिल्ला काभ्रेमा एमालेको बिजोग भएको छ । सबै स्थानीय तहको मत परिणाम आउनै लाग्दा काभ्रेमा एमाले ‘क्लिन स्विप’ हुने बाटोमा पुगेको छ ।
अब पाँचखाल र धुलिखेल नगरपालिकाको मात्र मतगणना सम्पन्न हुन बाँकी छ । पाँचखालमा कांग्रेस अगाडि छ । धुलिखेलमाँ पनि एमाले उम्मेदवार आठ सय मतले अगाडि छन् । बाँकी सबै स्थानीय कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जितेको छ ।
पहिले एमालेको गढ मानिएको बनेपा, पनौती, मण्डन देउपुर नगरपालिकामा सो पार्टीका उम्मेदवार पराजित भएका छन् । काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी निर्वाचित भएका छन्।
२०७४ मा निर्वाचित भएका एमालेका भीम न्यौपानेलाई पछि पार्दै भण्डारी मेयरमा निर्वाचित भएका हुन्। भण्डारीले १४०५० मत प्राप्त गरे।