स्थानीय तह निर्वाचन-२०७९

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग (विज्ञप्तीसहित)

काठमाडौं । २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने कार्य गरेका थिए ।

उक्त मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण गराउदै विज्ञपती सार्वजनिक गरेको छ ।
भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौति दिंदै नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ ।

बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजिनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट छ ।

निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस्तो किसिमको जघन्य घट्नामा संलग्न उपर कानून बमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *