समाचार

बलात्कारसम्बन्धी कानुन संशोधन गर्न डा. देउवाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अनुरोध गरेकी छन् ।

वक्तव्य जारी गर्दै देउवाले बलात्कार सहेर बाँचेकाहरुलाई आफ्नो पीडाबारे सार्वजनिक रुपमा बोल्न समय लाग्ने र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि धेरै वर्ष लाग्न पनि सक्ने भएकाले विद्यमान कानूनमा संसोधन आवश्यक रहेको बताएकी हुन् ।

महिला स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएकी डा देउवाले विश्वका राष्ट्रहरुले पनि दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरु परिवर्तन गरेका दृष्टान्त पेस गर्दै नेपालको समेत कानुनमा संशोधन गर्न माग गरेकी हुन् ।

कांग्रेस नेत्री डाक्टर देउवाले नेपाल सरकार, विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गरेकी छन् ।

बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्ने र उनीहरुका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुने भन्दै उनले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुन नहुने बताइन् ।

‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २०औँ वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ? नेपालले पनि अब कानुन परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु हुँदैन ।’ देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

देउवाले भनेकी छन्,‘हालै एकजना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्टट्र्याकबाट पारित गर्न अनुरोध गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *