स्थानीय तह निर्वाचन-२०७९

जेहेन्दार ५ विद्यार्थीलाई निशुल्क ईन्जिनियरिङ पढाउने मेलम्ची नगरप्रमुखको पहिलो निर्णय

काठमाडौं । मेलम्ची नगरपालिकाका नवनिर्वाचित मेयर आइतमान तामाङले नगर भित्रका गरिब एवं जेहेन्दार ५ जना विद्यार्थीहरूलाई नगरपालिकाको खर्चमा ईन्जिनियरिङ डिप्लोमासम्म निशुल्क पढाउने निर्णय गरेका छन । उनले नगरभित्रका विद्यालयहरुमा विधार्थीहरुलाई निः शुल्क प्राविधिक शिक्षा दिएर गरिब तथा जेहेन्दार विधार्थीहरुको भविष्य निर्माणमा सहयोग पुग्नुका साथै नगरको विकासमा पनि सहयोग पुग्ने भएकाले यस्तो निर्णय गरेको बताए ।

नवनिर्वाचित मेयरले नगरभित्रका २ जना विद्यार्थीहरूलाई कृषि प्राविधिक शिक्षा अध्ययनमा निशुल्क गर्ने निर्णय समेत गरेका छन । मेलम्ची नगरपालिकामा मेयरको पदभार ग्रहण गरेको पहिलो दिन उनले यस्तो कुरा बताएका हुन् ।

यसका साथै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी हुने महिलाको लागि नगरपालिका भित्रको बर्थिङ सेन्टरसम्म जाने आउने एम्बुलेन्स खर्च र काठमाडौं रिफर गरेको खण्डमा काठमाडौसम्म जाने एम्बुलेन्स खर्च समेत नगरपालिकाले व्यवस्था मिलाउने निर्णय गरेको छ । यसो गरेको खण्डमा सबै गर्भवती तथा सुत्केरी हुने महिलाकाे लागि समान किसिमको सेवा उपलब्ध हुने र गर्भवती महिलाहरुको पनि अकालमा ज्यान गुमाउनु पर्ने समस्याको अन्त्य हुने भएकाले यस्तो निर्णय गरेको नवनिर्वाचित नगर प्रमुखको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *