समाचार

दुई दिन बिदा दिने निर्णय अव्यावहारिक, सरकार पछि हट्ने

काठमाडौं । हप्तामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको हप्तामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ।

यस अध्यनले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको भनाइ छ । सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए।

सोही बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए ‘। विशेषगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो चर्चामा रहेको’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले बताए । ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने तयारी रहेको उनको भनाइ छ ।

निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नगर्न कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको पनि सचिव अधिकारीले बताए। ‘खानेपानी, विद्युत्, दूरसञ्चार, पासपोर्ट लगायत अत्यावश्यकीय सेवा प्रभावित नहोस् भनेर आइतबार पनि कार्यालय खुला राख्ने र त्यस दिन काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने तयारी भएको उनले बताए । हप्तामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा अर्को साता फेरि समीक्षा हुने उनले जानकारी दिएका छन् ।

विकाससँग सम्बन्धित मन्त्रालयका अधिकारीहरूले सातामा दुई दिन बिदा दिने सरकारी निर्णयबाट विकास निर्माणका काम प्रभावित हुन सक्ने बताउँछन्। ‘सातामा दुई दिन बिदा दिने निर्णयका कारण सरकारी ठेक्कामार्फत भइरहेका नियमित विकास निर्माण तथा अनुगमनको काम प्रभावित हुने अवस्था छ,’ सहरी विकास मन्त्रालय मातहतका एक सहसचिवले भने, ‘गृह मन्त्रालयले भनेजस्तो निर्माणको काम अत्यावश्यकीय सेवाभित्र नपर्ने भएकाले आइतबार सरकारी गाडी चलाउन नसकिने तथा निर्माणको काम प्रभावित हुने अवस्था छ।’

सरकारको यो निर्णय लागु गरेको आइतबार दोस्रोपटक भएको छ । अघिल्लो आइतबार जेठ १ गतेबाट यो निर्णय लागु भएको थियो। तर पुर्ण रुपमा लागु भने हुन सकेन । कतिपय कर्मचारीहरु समयमा कार्यालय पुगेर समयसम्म काम गरे भने अधिकांश कर्मचारीहरुले सोही नियम पालना गर्न सकेनन् ।

गृहमन्त्रालयले बिदाको दिन शनिबार र आइतबार सरकारी गाडी प्रयोग नगर्न र अत्यावश्यकीय अवस्थामा काठमाडौंको हकमा गृह मन्त्रालय र काठमाडौंबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *