
काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि पशु सेवा विभागले गत चैतको अन्तिम साता नमुना संकलन गरी परीक्षण गरेको थियो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको प्रारम्भिक नतिजा प्राप्त भएको विभागले जनाएको छ।
थप पुष्टिका लागि विश्व पशु स्वास्थ्य संगठनले तोकेअनुसार अस्ट्रेलियास्थित रिफरेन्स प्रयोगशालामा नमुना पठाइएको थियो। त्यहाँबाट पनि अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विभागले जनाएको छ।
यस रोगबाट काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र र ललितपुरको गोदावरी तथा भक्तपुरको चाँगुनारायण क्षेत्रका १ हजार १९ बंगुर मरेको विभागले जनाएको छ । यो रोग पशुबाट मानिसमा भने नसर्ने विभागले स्पष्ट पारेको छ।