स्थानीय तह निर्वाचन-२०७९

एमालेले अधिकांश ठूला सहर गुमायो, सहरी मतदाताले ओलीलाई पत्याएनन्

काठमाडौं । सहरका जनताले आफ्नो पार्टीलाई नपत्याएपछि एमाले अध्यक्ष केपी ओली अहिले चुनावको ‘च’ पनि उच्चारण गर्न चाहँदैनन् । चुनावको धपेडी र दौडधूपले विरामी परेका ओलीलाई रुघाखोकी र ज्वरोले ग्रस्त बनायो । उनी चुनावको मतपरिणाम सुरु भएदेखि कतै पनि सार्वजनिक भएनन् ।
एमाले अध्यक्ष ओली अहिले मौन व्रतमा बसेका छन् ।

स्थानीय निर्वाचनको मौन अवधि सुरु हुनुअघिसम्म ओलीको व्यस्तता निकै थियो । एकैदिन चारवटा जिल्लामा आयोजित चुनावी सभामा गएर भाषण गर्थे । तर उनले जहाँ जहाँ गएर हजारौं मानिस भेला पारेर भाषण दिए, तीमध्ये एउटा पनि स्थानीय तहमा एमालेले चुनाव जित्न सकेन । अझ भन्दा ठूला सहरमा एमाले निल नै भएको छ ।

प्रदेश १ को सूर्योदय नगरपालिका, दमक नगरपालिका, विराटनगर महानगरपालिका, धरान, इटहरी, राजविराज, जनकपुर, बद्रिवास, मलंगवा, लालबन्दी, चन्द्रपुर, वीरगन्ज, हेटौंडा, ललितपुर, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, महेन्द्रनगर, धनगढी कतै पनि एमालेले चुनाव जित्न सकेन । सानातिना सहर र गाउँपालिकामा भने एमालेले सुधार गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा ओली सहभागी भए । उनले त्यहाँ लामै भाषण गरे । तर, उनले कविता र साहित्यबाहेक राजनीतिक कुनै कुरा उल्लेख गरेनन् । एक साताभन्दा पछि सार्वजनिक कार्यक्रममा देखापरेका ओलीले पक्कै पनि केही त राजनीतिक कुरा गर्लान्, चुनावको समीक्षा गर्लान् भन्ने धेरैलाई लागेको थियो । तर, ओलीले चुनावको ‘च’ पनि उच्चारण नगरेपछि सबै आश्चर्यमा परेका छन् ।

निर्वाचनअघिसम्म ओलीले एमालेलाई क्विन्टलको ढक र अरुलाई किलोको ढक भन्थे । तर, चुनावी परिणामले एमालेलाई दोस्रो पोजिसनमा लगिदिएपछि ओली अहिले मौन व्रतमा बसेका छन् । अबको केही दिनमा सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्नेछ । त्यसबेलासम्म कुनै औपचारिक धारणा बाहिर नल्याउने ओलीको मनस्थिति रहेको स्रोतले बताएको छ ।

अहिलेकै अवस्थामा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गए एमालेको अवस्था कस्तो होला भन्ने कोणबाट बहस सुरु भएको छ । एमालेका एकथरी र माओवादीका एकथरी फेरि पनि कम्युनिस्टबीच एकता गरेर चुनावमा जानुपर्ने बताउन थालेका छन् । भित्रभित्रै त्यस्तो खेल सुरु नभएको होइन । तर, सत्तारुढ गठबन्धनमा स्थानीय चुनावबारे समीक्षा नभइसकेकाले के हुन्छ भन्ने भन्न सकिने अवस्था छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *