स्थानीय तह निर्वाचन-२०७९

वीरगन्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै

वीरगन्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन् ।

गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा ९एमाले० का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् । हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो ।

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका छन् ।

त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *