स्थानीय तह निर्वाचन-२०७९

पोखराका दुई वडाको पुनः मत गणना गर्न एमालेको माग

पोखरा । पोखराका दुई वडामा मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।

पोखरा महानगरका वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् । दुवै वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्र भेटिएको थियो । कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका थिए । तिमिल्सिनाले १६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १६४० मत पाएका थिए ।

पोखरा ३१ मा ४ हजार ४ सय ८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो । कांग्रेस उम्मेदवारले १ सय ६१ मतान्तरले एमालेलाई हराएका थिए । कांग्रेसका ढकनाथ कँडेलले १८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १७३७ मत पाए । मुचुल्कामा भएको भन्दा कम मत भएकैले पुनः मतगणनाका लागि निवेदन दिएको एमाले महानगर समिति अध्यक्ष दिलिप न्यौपानेले बताए । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले यस विषयमा निर्वाचन कानुनअनुसार अघि बढ्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *