
काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्षमा उल्लेख गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले निष्कर्षमा यस्तो निकालेको हो ।
पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार १ सय ५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकले निकालेको हो । ‘मुलभुतरुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो,’ आचार्यले भने, ‘१ सय ५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर हाम्रो आन्तरिक पार्टी संगठनको कमिकम्जोरीका कारण स्थानीय निर्वाचनमा कम सिट जित्न सफल भएको हो ।
चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यको भनाइ छ । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णयका लागि जेठ २० बैठक बस्ने निर्णय गरेको थियो ।
माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्र केन्द्रित हुने आर्चायले बताए । स्थानीय पालिकाहरुले असार १० गते बजेट ल्याएपछि मात्रै केन्द्रीय समितिको भौतिक बैठक बस्ने उनको भनाइ छ।
स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुखमा विजेता हासिल गरेको छ ।