समाचार

बास्केटबल : रोयललाई उपाधि

काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलकी प्रतीक्षा मगरले ११ अंक जोडिन् ।

रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोस्रोमा ६–६ को बराबरीमा रोकियो । रोयलले तेस्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका  थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *