समाचार

मुख्य समाचार : काठमाडौंमा पनि सकियो मतगणना, बाम गठबन्धनका बारेमा दलहरुबिच छलफल शुरु भएको संकेत

काठमाडौं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको हो । जेठ १० गते सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा बिहिबारदेखि छलफल शुरु भएको हो । छलफल शुक्रबारसम्म सम्पन्न हुने र जेठ १५ गते बजेट पेश हुनेछ ।

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले सरकारको चर्को आलोचना गरेको हुन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्रीले आउँदा सरकार थुर–थुर कामेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा भाग लिँदै ओलीले सरकारले अमेरिकीलाई खुसी पार्ने नाममा छिमेकी देशलाई रुष्ट बनाएको आरोप लगाए ।

स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य सम्भव नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीमा अहिले पनि अहमता देखिएको भन्दै उनले तत्काल बाम गठबन्धन नहुने दाबी गरेका हुन् । दाहालले एमाले अध्यक्ष ओलीले आत्मालोचना गर्दा भने बाम गठबन्धन हुने बताएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा फेरी मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार यसअघि वैशाख ३० गते सम्पन्न मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतगणना रोकिएको थियो । बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टलाई तिनदिनभित्र हटाउन समेत निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाको काम सम्पन्न भएपछि अन्तिम मतपरिणाम भने भोलि मात्रै सार्वजनिक हुनेछ । कार्यालयले भोलि नै सबै निर्वाचितहरुलाई प्रमाणपत्र दिनेछ ।

आफ्नै श्रीमती हत्या गरेको आरोपमा जेल चलान भएका सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले उल्टाउने फैसला गरेको हो ।

शसष्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । आफ्नै श्रीमती हत्याका दोषी कोइरालाको कैद सजायमा छुट दिने यसअघिको आफ्नै फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले कोइरालाको खोजी सुरु गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *