रिबन

हट्यो तुइन, बन्यो झोलुङ्गे पुल

दार्चुला । दार्चुलामा नेपाल-भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका-६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका-६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुशी भएका छन् ।

महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन -६ का तेजबहादुर चन्दले भने, ‘बल्ल अहिले आएर पुल निर्माण भयो ।’ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन-६ बाँकु स्थित पुलको शुभारम्भ गरे भने व्याँस -६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरेका हुन् ।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुशी देखिएका हुन् । व्याँस -६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउँछिन् । वषौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएकी उनी बिहीबारदेखि तुइनको ठाउँमा झोलुङ्गे पुल सञ्चालन भएपछि खुशी देखिइन् ।

उनले भनिन्, ‘कयौं बर्खा यो महाकाली नदीमा अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।’ व्याँस -६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल-भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन-६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउँछन् । ‘अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुशी छौँ । बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद-बर्खामा यात्रा सहज हुनेछ’, उनले भने ।

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए । दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उनले बताए ।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए । उनले भने, ‘अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन । दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ ।’

व्यास -४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो साता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्याँस गाउँपालिका-२ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ ।

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कूल रु दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो । पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

सो कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो । महाकाली नदीमाथि नेपाल-भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि ब्याँस-६ को तिगरम र लेकम गाउँपालिका-३ को लाली, मालिकार्जुन-७ को जौलजीविमा नेपाल-भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए । उनले भने, ‘अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्ने छैन ।’

भारत पिथौरागढका डिएम चौहानले नेपाल-भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताए । उनले भने, ‘नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो । सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ ।’ पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *