सम्पादकीय

संसदमा ओलीको तमासा

एमाले विभाजन गर्ने आफ्ना १४ सांसदमाथि गरिएको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले निरन्तर नौ महिना संसद् अवरोध गर्दै आएको थियो । तर, स्थानीय तहको निर्वाचनमा जनताले तिरस्कार गरेपछि एमालेले आफूले राखेका माग पूरा नहुँदै संसद् अवरोध खुला ग¥यो । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएपछि नौ महिना अर्थात् दुई सय ८१ दिनपछि एमाले अध्यक्ष केपी ओली प्रतिनिधिसभाको रोस्ट्रममा उभिए ।

उनले कुर्सीमै बसेर झन्डै तीन घन्टा सम्बोधन गरे । नौ महिनासम्म संसदमा बोल्न नपाएको कुण्ठा उनले बिहीबार सबै पोखे । उनले स्थानीय तहको निर्वाचनमा एमाले नहारेको, सत्ता पक्षले धाँधली र पैसा खर्च गरेर चुनाव जितेको आरोप लगाए । उनले अधिकांश समय गठबन्धन सरकार र कांग्रेसमाथि खर्च गरे । बीचबीचमा नीति तथा कार्यक्रममा यो नभएको त्यो नभएको भन्दै विरोध गरे । वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रममा काल्पनिकभन्दा पनि यथार्थ विषय समेटिएकाले पनि ओलीले विरोध गरेको सबैले विश्लेषण गरेका छन् ।

कतिसम्म भने ओलीले सरकारको विरोध गर्ने नाममा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूमाथि गम्भीर आक्षेप लगाए । उनले नेपाल आयल निगम सिध्याउन निजी क्षेत्रसँग अर्बौ रुपैयाँ कमिसन लिइसकेको आरोप लगाए । एउटा प्रधानमन्त्री भइसकेको व्यक्तिले विनाप्रमाण सरकारका जिम्मेवार मन्त्रीमाथि भ्रष्टाचार गरेको आरोप लगाउन मिल्दैन । 

तर ओलीले मन्त्री कमिसनमा बिकेर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ कारोबार गर्न दिन लागिएको बताए । भोलिपल्ट शुक्रबार मन्त्री बडूले ओलीले लगाएका लाञ्छनाको कडा प्रतिवाद गरे । उनले भ्रष्टाचारको चास्नीमा डुबेको व्यक्तिले मात्र अरुलाई भ्रष्टाचार गरेको देख्ने टिप्पणी गरे ।

मन्त्री बडूको सो अभिव्यक्तिलगत्तै एमाले सांसदहरूले संसदमा अवरोध गरे । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निर्देशनमा एमाले सांसदहरूले नाराबाजी गर्न थाले । जसकारण केही समय संसद स्थगित भयो । सरकारलाई जसरी पनि संसद् चल्नुपर्ने भएकाले मन्त्री बडूले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएपछि संसद् सुचारु भयो ।

अर्थात् अहिले पनि एमालेमा निरंकुश र गोयबल्स शैली बाँकी नै छ । आफूले अरुलाई जस्तो आक्षेप लगाए पनि हुने, तर अरुले विरोध र प्रतिवाद गरे संसदमा नाराबाजी गर्ने एमाले शैली देखिएको छ । ओलीले मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतमाथि पनि आफ्ना कुण्ठा पोखे ।

पार्टी हारेको कुण्ठा सबैभन्दा बढी कांग्रेसमाथि नै पोखे । त्यो पनि सार्वभौम संसदमा । जुन संसद् ओलीले आफू प्रधानमन्त्री हुँदा दुई दुईपटक भंग गरेका थिए । आफैंले भंग गरेको संसदमा अरुमाथि नानाथरीका आरोप र लाञ्छना लगाउँदा ओलीमा अलिकति पनि नैतिकता देखिएन । आफैंले भंग गरेको संसदमा तीन घन्टासम्म सम्बोधन गर्न कसरी सकेका होलान् भन्दै अहिले उनको आलोचना गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *