
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गरेका छन । यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीकोे समस्या समाधानका लागि नगर प्रमुख खत्रीले यातायात समितिको कार्यालयमै पुगेर पदाधिकारीसँग छलफल गरेका हुन । यातायात क्षेत्रलाई नजिकबाट बुझेका खत्रीले चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु गरेका छन ।
संघीय राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भए पनि नियमित र व्यवस्थित यातायात सेवा नहुँदा चाँगुनारायणबासीले निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गरेका हुन । चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच विस्तारका लागि नगर प्रमुख खत्रीले अग्रसारता देखाएका छन ।
नागरिकका हरेक पाइलासँग जोडिएको यातायात व्यवसायप्रिति सरकार जिम्मेवार हुनु पर्ने र नगारिकप्रति यातायात व्यवसायी जिम्मेवार हुनु पर्ने मेयर खत्रीको धारणा थियो । बाटोको असुविधाले यातायात सञ्चालनमा समस्या भए नगरपालिकाले सडकको तुरुन्त मर्मत संभार गर्ने कुरामा व्यवसायीलाई मेयर खत्रीले आस्वस्त बताए । यातायात व्यवसायीसँग साझेदारी गरेर यातायात सेवा नियमित र व्यवस्थित बनाउन नगरपालिका तयार रहेको उनले बताए ।
“चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामीण परिवेशभन्दा फरक छैन”, नगर प्रमुख खत्रीले छलफलमा भने, “जहाँ यातायातको सेवा नहुँदा काठमाडौँबाट नजिक भए पनि धेरै टाढाको दूरदराजको गाउँ जस्तो महसुस हुने गरेको छ ।” चाँगुनारायणको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन भइरहेका सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न र नियमित समय तालिका निर्माण गरी सञ्चालन गर्न यातायात व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेका मेयर खत्रीले बताए ।
छलफलका क्रममा समितिका पदाधिकारीले झौखेल र छालिङमा एक महिनाभित्र यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नगरका सडकको सुधार गर्नुपर्ने, विगतमा यातायात सञ्चालन गर्दा अनेक समस्या आएकाले त्यस्ता समस्या फेरि दोहोरिन नदिन नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए ।