
मुग्लान पुग्छौ किन लाग्छ ठेस ?
घरायसी कर्कश दुर्दशा छ ।
उचाल यो देश बसी यहीं नै
मुस्कान छन् पौरख पाखुरीमै ।१।
छ स्रोत पानी नयनाभिराम
खैंचेर बत्ती झिक लाख ठाम !
पुकार गर्दैछ धरा , युवा हो !
नेपालको भाग्य पगार चाँडो ! ।२।
मलेसियामा किन कोरियामा ?
अस्ट्रेलिया छौ कि अमेरिकामा ?
झर्छन् उतै छन् पसिना कमाइ
बाँझो छ धर्ती घर रिक्ततामा ।३।
लेखे पढेका कपुरी चिनेका
बलिष्ट खै हात भयौँ निरास !
खाडी पुगी खाडलमा रमायौ
बिर्स्याै सबै जन्मथलो गुमायौ ।४।
असक्त वृद्घा जनता जनाना
मुकाम यो रोदन भो जहाँ म ।
पाइन्न रे न्याय निसाफ साफ
रित्तो बसोवास बडो विलाप ।५।
०…………………..०…….……………..०.
मादी न.पा.– ६,सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर