सम्पादकीय

लोकतान्त्रिक-वाम गठवन्धनको औचित्य कहिलेसम्म ?

अहिले जनजनको जिब्रोमा झुण्डिएको एउटा प्रश्न छ–गठवन्धन किन र कहिलेसम्म ? यसको भरपर्दो उत्तर छैन । सबै नीतिको नीति राजनीति सम्भावनाको खेल हो । सम्भावनाको खेलमा आधारित भएर, सिद्धान्तको जगमा अडिएर तत्कालित र दीर्घकालीन लाभ-हानीमा आधारित भएर गठवन्धनको आवश्यकता र औचित्य पहिल्याई निर्णय लिइन्छ ।

नेपालमा लोकतान्त्रिक–वाम गठवन्धन कसरी संभव भयो ? तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली अलोकतान्त्रिक र असंवैधानिक चिन्तनविरुद्ध पाँच दलीय गठवन्धन जन्मिन पुग्यो । अलोकतान्त्रिक र असंवैधानिक शासकको रुपमा चित्रित भएपछि मुलुकको राजनीतिलाई लयमा फर्काउन लोकतान्त्रिक–वाम गठवन्धन बनेको हो । गठवन्धन विरोधीले पाँच दलीय  गठवन्धनलाई विजातीय गठवन्धनको रुपमा चित्रित गर्न समेतपछि परेका छैनन । तर, गठवन्धनको यात्रा अहिले पनि जीवन्त छ ।

हिजो ओलीको असंवैधानिक र प्रतिगामी चिन्तनविरुद्ध लड्न गठबन्धनको आवस्यकता अपरिहार्य थियो । अहिले दूई तिहाई बहुमत ल्याएर मुलुकमा सुशान, विकास र स्थायीत्व दिन र संविधान संशोधन गर्न गठवन्धन आवस्यक छ । राजनीतिमा गठवन्धन स्थायी होइन । जुन बेला गठवन्धनको आवस्यकता र औचित्य समाप्त हुन्छ त्यसपछि स्वतः गठवन्धन टुट्छ । र, नयाँ शिराबाट राजनीति कोर्ष अघि बढ्छ ।

मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेका मुलुकमा सरकार बनाउन र सरकार चलाउन गठवन्धन अनिवार्य जस्तै हुन्छ । तर, गठवन्धन कहिले गर्ने भन्ने विषय भने एकिन हुदैन । गठवन्धन निर्वाचन अघि र निर्वाचनपछि गरिने चलन राजनीतिक बृत्तमा पाइन्छ । निर्वाचन अघि गरिने गठवन्धनले कुन पार्टीको सरकार बन्छ भन्ने पूर्वानुमान सहज रुपमा गर्न सकिन्छ । निर्वाचन पछिको गठवन्धन सरकार बन्ने अंकगणित आकलन गरेर गरिन्छ ।

नेपालको गठवन्धनको अभ्यासलाई नियाल्दा निर्वाचन अघिको गठवन्धन राजनीतिक दलका लागि तुलनात्मक रुपमा हितकर देखिन्छ । २०७४ सालको स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र(वाम शक्ति) निर्वाचन अघि गठवन्धन गरेर चुनावमा होमिएका थिए । तीन वटै तहमा अत्यधिक सिट संख्या गठवन्धनको पोल्टामा परेको थियो । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित गठवन्धनले झण्डै दुई तिहाई नजिकको सरकार बनाउन र सरकार सञ्चालन गर्न सुविधाजनक बहुमत प्राप्त भएको थियो ।

यसै गरि हालै सम्पन्न २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठवन्धन चुनावी मैदानमा होमिएको थियो । लोकतान्त्रिक–वाम गठवन्धनले निर्वाचन सम्पन्न भएका ७५२ स्थान मध्ये ५ सय १० पालिकामा जित हात पा¥यो । लोकतान्त्रिक–वाम गठवन्धनप्रति विश्वसनीय आधार निर्माण हुन नसके पनि परिणाम भने सुखद् हात परेको छ । चुनावी परिणामले नेपाली कांग्रेस,नेकपा माओवादी उत्सायीत बनेको छ भने एकीकृत सामाजवादी पार्टीभित्र असन्तुष्टि तिब्र छ । छोराले विराटनगरको उपमेयर हारेपछि जसपाका सर्वोच्च नेता उपेन्द्र यादव गठवन्धनप्रति सन्तुष्ट छ्रैनन । यद्यपि जनाधार कमजोर भएका यि दलले गठवन्धको साहारामा सम्मानजनक प्रतिनिधित्व पाएका छन ।

वैचारिक निकटता नभएका दलहरु बीचको गठवन्धन भएकाले केही अफ्ट्यारा नआएका भने पक्कै होइनन । नेपालमा लोकतान्त्रिक–वाम गठवन्धन यो पहिलो भने होइन । २०४६ र २०६२-०६३ को जनआन्दोलन लोकतान्त्रिक–वाम गठवन्धनको बलमै सफल भएको हो । लोकतान्त्रिक–वाम एकताकै बलमा नेपालको संविधान जारी भएको हो ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा लोकतन्त्र, संविधानको रक्षा, शुसाशन, विकास र स्थायीत्व चट्टानी अडान लिएर जनतालाई विश्वसनीय बनाउन पाँच दलीय गठवन्धनले कन्जुस्याई गर्नु हुन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *