कला/साहित्य

राजधानी सहरको वृत्तचित्र

डुङ्डुङ्ती छ काठमामाडौं उपत्यका र उसको चोक
डङ्गुर छ फोहोरको
नजिकै पुगेर राजधानी पिच्च थुक्छ
र, नाक छोपेर नदेखिने गरी लाग्छ अर्को बाटो ।

भोकाएका भुस्याहा पाल्तुहरू
असबाफ दुर्गन्धका फाल्तुहरू
प्लास्टिक र झोलामा फालिएका वस्तुभाउमाथि
चलिरहेछ तानातान
फैलिरहेछ यत्रतत्र दुर्वृत्ति
जहाँ हरिया झिँगा, कन्सुत्ले र पुतलीहरू भन्किरहेछन्
नियामक निकाय टोलाएको छ
मान्छेहरू फन्किरहेछन्
उफ्रिरहेछन् सारौंँ र कागहरू
र उही दृश्यमाथि नाचिरहेछन् बकवादहरू ।

साँझदेखि उज्यालो नफक्रिउन्जेल
जम्मा हुन्छन् डाको छोड्छन् हुच्चिल र श्याल
देशको हबिगत बकिरहन्छन्
देशले बिसाएको छ चुनावी माहोल
हराएको छ गालीगलौज र चहलपहल
डुङ्डुङ्ती उस्तै बोकिरहेछ मेरो राजधानी सहर ।

भव्य बङ्गालामा सुस्ताउने सुस्ताइरहेछन्
आलिसान महलमा बस्न रुचाउने रुचाइरहेछन्
नाक थुन्दै कार डो–याएर तिनींहरू नै बाटो काट्तैछन्
अतिथि महोदयहरू
मन्दिरै मन्दिरको सहर नियाल्दै
चोक र सडकको जगर बगर छिचोल्दै
क्यामेरैपिच्छे कैद गरिरहेछन्
मेरै राजधानी सहरको वृत्तचित्र ।
०…………..०…….……..०.………..०.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *