समाचार

मन्त्री चौधरीको विशेष योजना : कुलेखानीको पानी लिफ्टिङ गरी काठमाडौंमा ल्याउन संभव

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्या तथा खोनपानीको समस्यालाई ध्यानमा राखी सरकारले मकवानपुर जिल्लाको सिस्नेरीस्थित कुलेखानी खोलामा बाँध निर्माण गरेर दैनिक रुपमा खानेपानीको आपुर्ती हुनेगरी १५ करोड लिटर पानी काठमाडौं पठाउने योजना रहेको बताएका छन् ।

सिस्नेरी खोलााको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने उदेश्यले मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गर्न गएका मन्त्री चौधरीले उक्त कुरा उल्लेख गरेका हुन् ।

बर्षात र बाढीका कारण मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने अवस्था र सुख्खायाममा पानीको माग बढेको बेला काठमाडौंवासीको खानेपानीको समस्यालाई हल गर्ने उदेश्यले कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा आपूर्ती गर्न सकिने योजना रहेको मन्त्री चौधरीले संचारकर्मीहरुसंग उल्लेख गरेका छन ।

कुलेखानीको पानी दिर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौ लैजाने र अल्पकालिन रुपमा २ वर्षभित्रै लिफ्टिङ दैनिक ६ देखि ७ करोड लिटर पानी लैजान सकिने मन्त्री चौधरीको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा संजिवबिक्रम राणाका अनुसार सिस्नेरी खोलामा निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्युन र थोरै समुदाय मात्र प्रभावित हुने र पाईपलाईन विस्तार गर्न काठमाडौं – तराई ÷मधेशद्रूतमार्गको किनारा प्रयोग गर्न सकिने छ ।

सम्भाव्यता अध्ययनका अनुसार काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिव १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमति नदी नजिक रहेको प्रस्तावित वाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिव १५ करोड लिटर पानी वितरण गर्न सकिन्छ ।

बागमति नदीभन्दा करिव २ सय मिटर नजिक सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाई ६० मिटरमा राख्न सकिने बोर्डका कार्यकारी निर्देशक डा .राणाको उल्लेख गरे ।

बाँधस्थलमा जम्मा भएको पानीलाई करिव २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाईने उनको भनाइ छ ।

प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधिन दू्रतमार्गमा करिव १९ किलोमिटर उत्तरतर्फ पाईपलाईन विच्छ्याई ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाईमा रहेको सैंबु पानीपोखरीमा खसालिने प्रस्ताव अध्ययनमा उल्लेख गरिएको समेत उनले बताए ।

प्रस्तावमा उल्लेख भए अनुसार बाँध निर्माण गर्ने स्थलले ८२ बर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिन्छ । प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ ।

बोर्डका कार्यकारी निर्देशक राणाको भनाइअनुसार दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिव २६ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त क्षेत्रको बाँध निर्माण गरी आयोजना संचालनलाई पूर्णता दिन लगभग ६ महिना लाग्ने अनुमान गरिए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आउन सकेको छैन ।

आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालिन आयोजना संचालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहने मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी दिएका छन् ।

आयोजनाको बाँध मात्र निर्माण गर्न करिव १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि १ अबै र पानी प्रशोधन केन्द्र निर्माणवको लागि करिव ५ अर्ब ८५ करोड लागत लाग्न सक्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *