राजनीति

जिसस सप्तरीमा कांग्रेसका साह विजयी

काठमाडौं । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी भएका हुन । उनले २३ मत ल्याएर विजयी भएका हुन ।

उनका  निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार छेदी अरगरिया यादवले ११ मत प्राप्त गरे  । सप्तरीमा १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिएका थिए  । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भुकुमार यादव २० मत ल्याएर विजयी भएका हुन  । उनका  निकटम प्रतिद्वन्द्वी एमालेका देवकान्त चौधरीले १४ मत ल्याए । महिला सदस्यमा नेपाली कांग्रेसकी रञ्जिताकुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र नेकपा (एकीकृत समाजवादी) की सविताकुमारी साह निर्वाचित भइन ।

सदस्यमा नेपाली कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । दलित वा अल्पङ्ख्यक सदस्यमा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल ३६ मतमध्ये दुई मत बदर भएको छ । नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा पार्टी मिलेर कांग्रेसका निर्वाचित साहलाई उम्मेदवार बनाइएको थियो ।

–––

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *