समाचार

बाढीभन्दा पहिरोबाट बढी मानवीय क्षति

काठमाडौँ । मनसुनजन्य विपद्का घटनाबाट ११ वर्षको अवधिमा देशभर २ हजार ३ सय ६२ जनाको मृत्यु र ८ सय ८० बेपत्ता भएका छन् । २०६८ देखि २०७८ सम्म भएका ५ हजार ८ सय २५ मनसुनजन्य विपद्का घटनाबाट देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको हो ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी २ हजार ४ सय ६५ पहिरोका घटनामा परी १ हजार ३ सय ८७ जनाको अकालमै ज्यान गएको छ । यही अवधिमा पहिरोमा ३ सय ३० जना बेपत्ता र १ हजार १ सय ३६ घाइते भएका छन् ।

यस अवधिमा पहिरोबाट ८ हजार १ सय ८० परिवार प्रभावित हुँदा ३ हजार ३० घर पूर्ण र २ हजार ६ सय ३९ घरमा आशिंक क्षति भएको तथ्यांक छ ।

तथ्यांकअनुसार ११ वर्षको अवधिमा १ हजार ७ सय ५६ बाढीका घटनामा परी ८ सय ५७ जनाको अकालमै ज्यान गएको छ । यस अवधिमा बाढीका घटनामा परी ५ सय ४८ बेपत्ता र १ सय ९२ जना घाइते भएका छन् । बाढीबाट सो अवधिमा ६५ हजार १ सय ५४ परिवार प्रभावित हुँदा ११ हजार ७ सय ३२ घर पूर्ण र ४२ हजार ४७ घर आंशिक क्षति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *