समाचार

संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन् ।

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरेका हुन् ।

उनका प्रवक्ता स्टेफान डुजारिकले मङ्गलबार प्रकाशन गरेका एक विज्ञप्तिमा भनेका छन्– आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ ।

हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक मारिएका थिए । त्यसको सुडानले कडा विरोध गर्दै आएको छ ।

सुडानी अधिकारीहरुका अनुसार इथियोपियाका सेनाले आफ्नो सेनाको हत्या गरेको थियो र त्यसका विरुद्धमा सुडानले संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दिने तयारी गरेको छ ।

तर यसरी विवाद नबढाई आपसमा वार्ता गरेर समस्या समाधान गर्न महासचिव गुटर्रेसले आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *