रिबन

शेखर समूहको बैठक आज पनि, पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औं महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुशी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

देउवाको मनोमानी कायमै रहेमा ‘रचनात्मक’ विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् । हिजोको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सह-महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, उद्योगमन्त्री समेत रहेका नेता दिलेन्द्र बडू, सरिता प्रसाई, गोविन्द पोखरेल र चन्द भण्डारी सहभागी थिए ।

यस्तै रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि बैठकमा उपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *