रिबन

मुख्य समाचार : मन्त्री परिवर्तन गर्ने विषयले जसपाभित्रको विवाद उत्कर्षमा

काठमाडौं । कांग्रेसको संस्थापन इतर समुहले गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको निष्कर्ष निकालेको छ । काठमाडौंको बत्तिसपुतलीमा बसेको बिहिबार र शुक्रबार बसेको बैठकले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको हो ।

प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् । अध्यक्ष यादवले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला नियोजित भएको पनि बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरेका छन् । प्रकाशको जन्मजयन्तिको अवसर पारेर शालिक अनावरण गरिएको हो । नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका–६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरेको हो ।

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग शिष्टाचार भेट गरेका छन् ।

युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रुसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रुसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् ।

अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *