सम-सामयिक

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको हो ।

भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनको सफल आयोजना गरेकोमा बधाई ज्ञापन गरेका छन् । उनले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटाले अन्तर्राष्ट्र्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीहरूको समाधान गर्न सकिने धारणा राखे । सभामुख सापकोटाले नेपाल र अजरबैजानको संसदको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय मैत्री समूह निर्माणको प्रस्ताव गरे ।

अजरबैजानका सभामुख गफारोवाले नेपालका सभामुखसहितको प्रतिनिधि मण्डलको सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरे । यस अघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद तयार रहेको बताए । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यहि असार १४ गते गएका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने समय तालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *