समाचार

मुख्य समाचार : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा, शर्मामाथि छानविन गर्न संसदले बनायो विषेश समिति

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबिन गर्न संसदीय छानविन समिति गठन भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो । संसदीय समिति ११ सदस्यीय रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन दबाब थियो ।

नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा निर्दोष प्रमाणित भए उनी नै अर्थमन्त्री बन्ने जनाएको छ । माओवादी केन्द्रले शर्मामाथि छानबिन गर्नको लागि समिति बनिसकेको र समितिले निर्दोष प्रमाणित गरे उनी नै अर्थमन्त्री बन्ने जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाका बिचमा भेटवार्ता भएको छ । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंसीर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । आगामी मंसीर २२ गते अहिलेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको कार्यकाल सकिने आयोगले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ११३ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार भने दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ४७१ जना रहेका छन् ।

चन्द्रागिरि केवलकार विग्रिएपछि ४ सय बढि मानिस अलपत्र परेका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएको हो । केवलकार विग्रिएपछि डाँडामा पुगेका चार सय अलपत्र परेका हुन् । बुधबार साँझसम्म केबलकार नबनेपछि नेपाल प्रहरीले उनीहरुलाई बसमार्फत उद्धार गरेको छ ।

बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन् । क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन् । यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनमा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *