मुख्य समाचार

खानेपानी मन्त्री चौधरीको सक्रियतामा गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न

काठमाडौं । गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन भएको छ । विक्रम सम्बत् २०५३ सालमा गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । एसियाली विकास बैंकको सहयोगमा निर्मित प्रशोधन केन्द्रको आइतबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले सरकारको १५ औं योजना अनुसार प्रशोधनसहितको फोहोरपानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत रहेको बताए । उनले दीगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको समेत बताए ।

मन्त्री चौधरीले लक्ष्य प्राप्तीको लागि पहिलो चरणमा पशुपति क्षेत्रको वातावरणीय सुधारका लागि, पशुपति क्षेत्रको माथिल्लो तटिय क्षेत्रमा बागमती नदीलाई स्वच्छ, सफा बनाउन तीन करोड २४ लाख लिटर प्रति दिन क्षमताको फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको जानकारी समेत दिए ।

फोहर पानी प्रशोधन केन्द्रको मुल उद्धेश्य पशुपतिनाथ क्षेत्रमा सफा पानी उपलब्ध गराउनु रहेको बताए । उनले भने,‘पशुपतिनाथ मन्दिरको उपल्लो तटिय क्षेत्रमा फोहोर पानी प्रशोधन गरी बागमती नदीमा विसर्जन गर्न सकियोस जसले गर्द पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी उपलब्ध गराउनु हो ।’

बाग्मती र सहायक नदीमा प्रदुषण बढ्दै गएका कारण नदी प्रणालीमा न्युनतम पर्याबरणीय बहाव कमी भएको मन्त्री चौधरीले बताए । उनले जलचर र बनस्पतिहरु नासिँदै जाने समस्याले काठमाडौं उपत्यकाको सभ्यतामाथि चुनौती थपिइरहेको समेत बताए ।

मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको पुनस्र्थापना तथा निर्माण गरी चैत मसान्तभित्र काठमाडौंवासीलाई वितरण गर्न सफल भएको भएपनि वर्षातका कारण अहिले बन्द भएको बताए । उनले वर्षा लगत्तै काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्ने समेत बताए । बैकल्पिक व्यवस्थाका लागि सिस्नेरी खानेपानी योजनाको तयारी गरिरहेको समेत उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *