देश

सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रमको उद्घाटन गरेका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक समारोहबीच उनले कार्यक्रमको उद्घाटन गरेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस, कान्तिपुर डेण्टल कलेज तथा अस्पतालसँगको सहकार्यमा आगामी १५ दिनसम्म उक्त कार्यक्रम सञ्चालन गरिने छ । 

काठमाडौं महानगरपालिका प्रमुख शाहले पद्मकन्या कलेज सामाजिक कार्य विभागका प्रमुख स्वीकृता राईलाई ट्राफिक स्वयंसेवक ज्याकेट तथा काठमाडौं महानगरपालिकाबाट प्राप्त स्टिकर लगायतका सामग्री हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । 

सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख शाहले सवारी साधनको हर्नले अशान्ति फैलाउनुको साथै मानसिक स्वास्थ्यमा असर गर्ने तथा ट्राफिक प्रहरीको कार्यमा समेत अवरोध पु¥याउने बताएका थिए । 

सवारीसाधन चालकले धैर्य गरी विस्तारै चलाउँदा सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउन कार्यक्रम सफल हुने विश्वास उनले व्यक्त गरेका थिए । 

पहिलेदेखि नै लागू भएको ‘नो हर्न’को अभ्यासलाई थप प्रभावकारी बनाउन ‘नो हर्न’ को स्टिकर र यस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले जनाए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट