राजनीति

१२ घण्टे अपडेट : विहान ६ बजे देखि साँझ ६ बजे सम्मका (समाचार संग्रह)

सिट बाँडफाँड गर्न गठित पाँचदलीय कार्यदलको पहिलो बैठक बालुवाटारमा

काठमाडौँ । सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक बस्दैछ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन्  । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने तयारी छ ।

अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन् । आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुनेछ । ‘पहिलो बैठकमा सिट बाँडफाँड के–कसरी गर्ने भन्नेबारे छलफल प्रारम्भ हुनेछ । निश्चित मापदण्ड बनाएर जान्छौँ,’ कार्यदल सदस्य हिमलाल पुरीले भने ।

कार्यदलको सुझावका आधारमा गठबन्धनमा भदौ पहिलो साताभित्र सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी छ ।

गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सिट बाँडफाँट कार्यदलको वैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको छलफल जारी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सत्तारुढ दलबीच तालमेल गर्ने निणर्यपश्चात् कांग्रेसको पहिलो पटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल भएको हो

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्व पदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको छ ।

कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

कांग्रेसले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
यही साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । साथै, बैठकमा चुनावी तालमेलको मोडालिटीबारे समेत छलफल भएको बताइएको छ ।

सय सिटको बटमलाइनमा गठबन्धन गर्न कार्यदललाई कांग्रेस नेताहरूको सुझाव
काठमाडौं।नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले आगामी चुनावमा पार्टीको भागमा सय सिट राखेर देशैभर गठबन्धन गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट नपाउने भए गठबन्धन नगर्न कार्यदलका सदस्यहरुलाई सुझाव दिएका हुन्।


सिट बाँडफाँड कार्यदलको बैठक अगाडि बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुने सुझाव दिएको एक पूर्व पदाधिकारीले जानकारी दिए। बैठकमा अधिकांश नेताहरुले कांग्रेसले सय सिट नपाउने हो भने आन्तरिक व्यवस्थापनमा समस्या आउने समेत बताएका थिए।

केही नेताहरुले गठबन्धन गर्दा कांग्रेसले १०६ सिट जित्ने अवस्था रहे पनि सुरुमै ६०–४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए। ती नेताहरुले सभापति देउवालाई गठबन्धनका नाममा अन्य दलहरुलाई ६०–४० प्रतिशतको पोजिसनमा गठबन्धन गर्ने बचन दिइसकेको हो भनी प्रश्न समेत गरेका थिए। तर, बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए। उनले उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

कांग्रेस बैठकः २२ दिने चुनावी अभियानदेखि प्रशिक्षणसम्म
काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो
सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन् ।

कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ । पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसले निर्वाचन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीका लागि देशभर पार्टीका केन्द्रीय नेताहरु खटाउने भएको छ

आउँदो मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो । महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिएका छन् । उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो ।

भदौ २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्यहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा’, थापाले भने । उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिए । ‘हामीले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौं ।

बालुवाटारमा सत्तागठबन्धनको कार्यदल बैठक, सिट बाँडफाँटबारे छलफल

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको यो पहिलो बैठक हो। कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्षनेताहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।

आजै बिहान कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा नेताहरुले समान प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न सुझाव दिएका थिए। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ।

कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्।

आदिवासी जनजातिहरूको ज्ञान–सीपले मुलुक सम्पन्न बनाउन सहयोग गर्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको ज्ञान–सीप महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार काठमाडौँमा भएको आदिवासी जनजातिजन्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘आदिवासी जनजातिहरूको अधिकार तथा स्वतन्त्रतासम्बन्धी संविधानले पनि धेरै कुराहरू प्रत्याभूत गरेको छ । यसमा सधैँ राज्य सजग छ ।’

उनले उनीहरूको आदिवासी जनजातिहरूको ज्ञान–सीपले मुलुक सम्पन्न बनाउन सहयोग गर्ने बताए । ‘आदिवासी जनजातिहरूको ज्ञान–सीपले मुलुकलाई सम्पन्न बनाउनका लागि सहयोग गर्छ । यसको सम्मान राज्यस्तरबाटै हुनुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट