रिबन

मुख्य समाचार : सत्ता गठबन्धनमा वावुराम भट्टराई र लोसपा पनि समावेश हुने तयारी, एमालेको अनौठो विरोध

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया शुरु गर्ने भएको छ । मंसीर ४ गतेका लागि तय भएको चुनावका लागि भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) को कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नामावली अद्यावधिक इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् । जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा उनले चितवनबाटै उम्मेदवारी दिने दाबी गरेका हुन् । उनले विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर वावुराम भट्टराईले सत्ता गठबन्धनमा आफ्नो दललाई समेत सहभागी गराउन आग्रह गरेका छन् । पार्टी गठन भएपछि पहिलोपटक प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा भट्टराईले अहिलेको गठबन्धन निर्माणमा महत्वपुर्ण योगदान रहेको भन्दै अहिलेको गठबन्धनमा समेत सहभागी गराउन आग्रह गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताएका छन् ।संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारमा मन्त्री बन्ने कुरा र आउँदो चुनावका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने उनले बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको बताएका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो । इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

केन्याविरुद्ध हुने सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् । अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुने केन्यासँग नेपालले पाँच वटा टी–ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ । नेपाली टोलीमा विकेटकिपर अर्जुन साउँदले पनि पहिलो पटक स्थान बनाएका छन् । कुशल भुर्तेल भने टिममा परेनन् ।

नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । उनले बैठक बसेपछि राजीनामाको तयारी गरेर राजीनामा दिएको संचारमाध्यमलाई बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट