अर्थ

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । केही समय अघि मात्रै झन्डै ५ अर्ब बराबरको शेयर खरीदविक्री हुने गरेकोमा पछिल्लो समय कारोबार रकम र नेप्से सूचक दुबै ओरालो लागिरहेका छन् ।

यसैक्रममा बुधवार कारोबार रकम २ अर्ब रुपैयाँभन्दा तल झरेको छ । शुक्रवार आधा समय कारोबार हुँदा मात्र २ अर्ब रुपैयाँभन्दा कमको कारोबार हुने गरेकोमा अहिले भने बुधवार पनि कारोबार रकम २ अर्बभन्दा तल आएको हो । वुधवार जम्मा १ अर्ब ९३ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

लाभांशको सिजन शुरु हुन थालेको छ भने बैंकले ब्याजदर नबढाउने घोषणा गरेका छन् । यस्तो अवस्थामा पनि बजार बढ्न सकेको छैन । हालसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरू नाफामै देखिएका छन् ।

अन्य पक्ष सकारात्मक हुँदाहुँदै पनि लगानीकर्ताको मनोबाल सकारात्मक हुन नसक्दा बजार ओरालो लागिरहेको लगानीकर्ताहरू बताउँछन् । बजारको दीर्घकालीन सुधारका लागि वित्तीय प्रणालीमा तरलता सहज र ब्याजदर क्रमशः सस्तो हुँदै जान आवश्यक भएको लगानीकर्ताको भनाइ छ ।

केही दिनदेखि बजार घटे पनि बिस्तारै बजारमा खरीदकर्ता आउने जानकारहरू बताउँछन् । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ५ दशमलव ९१ अंक घटेर २ हजार ५६ दशमलव ८८ विन्दुमा झरेको हो ।

यस दिन कारोबारमा आएका २१८ धितोपत्रको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर ३६ हजार १३४ पटकमा रू. १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २१८ धितोपत्रमध्ये सबैभन्दा बढी हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।

शेयर मूल्य प्रतिकित्ता रू. ३०३ दशमलव ३० पुगेको हो । यस कम्पनीको शेयर मूल्य केही दिन अघि मात्र नेप्सेमा सूचीकृत भएको हो ।

सोही कारण पनि लगानीकर्ताको आकर्षण परेको हो । त्यसैगरी दोस्रोमा युनिलिभर नेपालको शेयर मूल्य ४ दशमलव ३० प्रतिशत बढेर रू. २० हजार ६ सय पुगेको छ ।

त्यसैगरी बुधवार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।

शेयर मूल्य प्रतिकित्ता रू. ४५९ दशमलव ५० कायम भएको छ । त्यस्तै बुधवार नागरिक लगानी कोषको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कम्पनीको रू. १० करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २५४ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेण्टको रू. ६ करोड ८८ लाख बराबर छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशलमव ५० प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक १ दशमलव ४९ प्रतिशत घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट