विचार

अब त हामी आफैं जितौं न यार

तिनीहरु हुल छुटेर लागे,सास्ती वेहोरे,नाता कुटुम्ब आफ्नो अर्काको पनि हेरेनन्,तल्लो घर माथ्लो घर पनि भनेनन् आफैं चुनाव लढेकोझै गरि हस्याङ फस्याङ दौडधुप गर्नु सम्म गरे।जितेको खबर सुनेपछि आफैले आफैंलाई सिन्दुर घोप्ट्याय ,बाजागाजा बजाए,नारा जुलुश गरे उडुंलाझै गरि उफ्रिन सम्म उफ्रिए।

विचरा उनीहरुका तेत्रा ठुल्ठुला माग के नै थिए होलान र विकास निर्माण त सुविधाभोगीका लागि हो जो जिते नि भैहाल्थ्यो नि।मुद्धामामिलामा सहयोगको आशा होला भनौ भने उनीहरु गल्ती गर्दै गर्दैनन्। जागिर सागिर लाईदिन्छ कि भनौ भने विचराहरुलेले जागिरलाई पुग्ने पढेकै छैन,छरछोरीलाई पनि स्कुल पठाई दिए पढाउन सकेनन्। चुनावका वेलाको दारु पानी राम रमाईलोमा भुलेर भनौं भने अर्को उम्मेद्वारले पनि झन मज्जाले गरिदिन्थ्यो।

ताजुव लाग्छ,किन रौसेका होलान तिनिहरु,किन हौसेका होलान ? घोषणा पत्रबाट प्रभावित भए भनौ भने त्यो पनि होईन।परेको बेला काम लाग्छ भनेर पो हो कि भनौं भने जन्ति मलामी त वैरीकै पनि भ्यायसम्म जाने चलन छंदै छ। वर्षिका पोथ्रा नाघौंला जसरी उफ्रिदै रमाएका हजारौं मान्छेहरु आफैंले जितेको जस्तो अनुभूति गरिरहेका छन्।


जब उस्ले जित्यो,उ अब टोलका चियापसलमा देखिदैन,काईंला काकाहरु र टुल्केहरुसँग लोकल पिउंदैन,अब उस्लाई भेट्न अर्को मान्छे मार्फत जानू पर्छ।बारम्वार फोन गरिरहने उ अब मरिगए फोन उठाउदैन।अब उसँग हिडडुल गर्ने मान्छेहरु ती उफ्रने मान्छेहरुले चिन्दै नचिनेका हुनेछन्। उ लिफ्ट चढेर सात दस तलामाथि कफी पिउंछ ,सडकमा चिया वेच्ने मखमलीको चिया खांदैन। उसका अघिपछि अजङ्गका भुंडेमान्छेहरु हुनेछन्।बले र सान्नानीहरुले भेटिहाले भने एकै छिन है भन्दै लापत्ता हुन्छ।जितेको उ,विल्कुल बेग्लै छ उ आधारभूत तहमा भएका जनता जस्तो छैन। खानपान,बसउठ,आउजाउ रहनसहन बोलीवचन सबै वदलिएका छन् । उ आकाशमा छ भुईं छोडी सक्यो ।जिताउनेहरु आकाशतिर फर्केर विन्ती विसाउंछन,उ जुँगा मुसार्दै आश्वसनका डुकु देखाउंछ।

सदियौ चल्दै अाएको हाम्रो राजनैतिक परम्परालाई कायम राख्ने कि केही फेरबदल गर्ने ? भुईंका व्यथा टिपेर लैजाने मान्छे रोज्ने कि आकाशका गीत सुनाउने रोज्ने ? आओ न यार मान्छे हो अब जनता जस्तै मान्छे रोजौं।तपाईले जिताएको मान्छे तपाईं जस्तै हवस्।तपाईंहरुका आवाज बोक्ने डाक्रे बनोस्।आउनुहोस अब जनता जित्नु पर्छ।हामी जित्नु पर्छ।यसपाली त हामी जितौ न।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *