ताजा समाचार

आश्रममै दशैं

पाल्पा । आफ्ना ७४ वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दशैँको रौनक छैन ।

आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका-४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्छन् । ‘अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौैं’, फुलसा भन्छिन्, ‘पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।’

ती दम्पती १७ वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दशैँमा आश्रममै बस्ने बताउँछन् । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् ।

उनीहरुमध्ये अधिंकाशको घर परिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उनीहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर-७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उनी परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका हुन् । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । ‘छोरा-बुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउँदैनन् बाबु’, उनी भन्छन् ।

दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम शुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउँदै आएका तिनाउ-४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे । ‘पाखुरीमा बल छउञ्जेल मात्र प्यारो होइन्छ’, गहँभरि आँशु पार्दै उनले भने, ‘क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगें ।’ निको नहुञ्जेल घर नजाने उनले बताए ।

आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खाने बस्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *