राजनीति

कांग्रेसको भाग खोसे प्रचण्डसँगै लड्छौँ : गुरु घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेसका नेताहरुको भाग खोस्ने हो भने प्रचण्डसँग लड्न किन नजाने ? भन्दै प्रश्न गरका छन् ।

मंगलबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रचण्डले आफूहरुको भाग खोस्ने हो भने उनीसँगै प्रतिस्पर्धा गर्ने बताए । सिट बाँडफाटमा आफू आकांक्षी रहेको क्षेत्र माओवादीलाई दिन खोजिएकोमा असन्तुष्टि जनाए।

‘माओवादी र हाम्रो पार्टीका बीचमा सिट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ, त्यो आधारले नेपाली कांग्रेसभित्रका साथीहरुलाई अन्याय हुने अवस्था हामीले देख्यौं । जस्तो हाम्रै निर्वाचन क्षेत्र मोरङमा ४ नम्बर निर्वाचन क्षेत्र भनेको कांग्रेसको बर्चस्व भएको क्षेत्र हो । त्यहाँबाट मैले आफू लड्ने र प्रतिस्पर्धा गर्ने आकांक्षा राखेको छु । त्यो क्षेत्र बाँडफाँटमा माओवादी केन्द्रलाई दिने भन्ने कुरा बाहिर आयो। सहमति भयो भन्ने कुरा आयो’, उनले भने।

घिमिरेले १४ गते बन्दसूची सच्याउने बेलासम्म आफूहरुले पर्खिने बताए । लोकतान्त्रिक पार्टी र लोकतान्त्रिक पार्टीको नेतृत्वले लोकतान्त्रिक चरित्र र संस्कार प्रदर्शन गर्छ भन्ने आफूहरुको आशा रहेको उनले बताए ।

‘१४ गतेसम्म पर्खिन्छौं। त्यसपछि हाम्रो अर्को चरण, मैले अस्ति नै बोल्दा पनि भनेको थिएँ, विनम्रताको चरण, विरोधको चरण र विद्रोहको चरण। त्यसपछि हामी अर्को चरणमा प्रवेश गर्छौं’, उनले चेतावनी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *