कला/साहित्य

डा .श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार प्रदान गरिने

काठमाडौं । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार हिमाली वनस्पति विषयका विज्ञ प्राज्ञ डा .तीर्थबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको आज बसेको १०८औँ बैठकले श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका सचिव डा बद्रीविशाल भट्टराईका अनुसार षडानन्दले आफ्नो जीवनकालमा महत्वपूर्ण योगदान दिएका क्षेत्रहरु शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमध्ये यस वर्ष नेपालको पर्यावरण संरक्षण क्षेत्रको अध्ययनमा उल्लेखनीय कार्य गरेवापत् डा .श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । 

उनले नेपालको जैविक विविधता एवम् सम्पदा संरक्षण परियोजना कार्यक्रमका संयोजक, मकालु–वरुण संरक्षण परियोजना नेपाल, राष्ट्रिय निकुञ्ज एवम् वन्यजन्तु संरक्षण विभाग तथा उडल्यान्ड माउन्टेन इन्स्टिच्युट, अमेरिकाको सहकार्यमा सञ्चालित परियोजनाको कार्यदल संयोजक भइ नेपालको वातावरण तथा वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पु¥याउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) मा विज्ञान विषयका प्राज्ञ परिषद् सदस्य तथा सदस्य सचिव समेत रहनुभएका डा श्रेष्ठका नेपाल–नखुलेका पाटाहरु (२०६६०, जलवायु परिवर्तन ः बुझौँ र बुझाऔँ (२०६८), नेपालको जैविक भूगोलको पुनरावलोकन (२०७३) नेपाल अध्ययनः भू–स्वरूप र हावापानी (भाग–एक, २०७५०, नेपाल अध्ययन ः वन, वनस्पति र प्राणी (भाग–दुई, २०७७० लगायत पुस्तक नेपालीमा तथा जिम्नो स्पर्मस् अफ नेपाल, हिमालयन फ्लावर्स एन्ड ट्रिजलगायत पुस्तकका साथै नेपाली र 

अङ्ग्रेजीमा गरी दर्जनौँ मौलिक तथा अनूदित लेखहरु प्रकाशित छन् ।

उक्त पुरस्कार भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं १८९२–१९७३) को स्मृतिमा उदार मनादाताहरुको सहयोगमा प्रतिष्ठानद्वारा स्थापना गरिएको हो प्रतिष्ठानका सचिव डा भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार गलेश्वर आश्रम देवघाट, तनहुँलाई प्रदान गरिएको थियो । 

यसैगरी षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार २००४ सालमा स्थापित परोपकार संस्था, भीमसेनस्थानलाई प्रदान गर्ने निर्णय गरिएको छ । सामाजिक सेवामा समर्पित उक्त संस्थाले स्थापनाकालदेखि नै अनाथ बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । यस संस्थाले परोपकार स्कुल र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने परोपकार चिकित्सालय पनि सञ्चालन गरेको छ । परोपकारदाता विभागका नामले विभिन्न १८ स्थानमा स्वास्थ्य सेवा तथा परोपकार उपचार केन्द्र र परोपकार एम्बुलेन्ससमेत सञ्चालनमा रहेको स्वर्गीय दयावीरसिंह कन्सकारद्वारा स्थापित यो संस्था विगत ७५ वर्षदेखि सञ्चालनमा छ । 

यसैगरी आबाल ब्रह्मचारी षडानन्दका मुख्य सहयोगीमध्ये एक, षडानन्दको जीवनीसँग सम्बद्ध काव्यका रचयिता स्वर्गीय यज्ञनिधि चापागाईँको स्मृतिमा उहाँका पनातिद्वय उदयकुमार चापागाईँ र दिलीप चापागाईँद्वारा स्थापित षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार यसै वर्षदेखि प्रदान गर्न लागिएको हो । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति÷संस्थालाई सम्मानपत्रसहित प्रदान गरिने यो पुरस्कारको राशि रु ५१ हजार रहेको छ । 

यस्तै षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष साहित्यकार तथा शिक्षासेवी दुर्गाप्रसाद अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । षडानन्दद्वारा स्थापित व्रिद्यालयमा प्रारम्भिक शिक्षापछि आफ्नो अध्ययन पुरा गरेर सोही विद्यालयमा शिक्षक भइ लामो समयसम्म  सेवा गर्नुभएका अधिकारीको बालागुरु षडानन्द महाकाव्य प्रकाशित छ । 

उनको अनेकौँ कविता पनि प्रकाशित छन् । भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उहाँहरुका सुपुत्रद्वय निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने यस पुरस्कारको राशि रु ३५ हजार रहेको छ ।

षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार षडानन्द अधिकारीको १८८औँ जन्मदिनका  अवसरमा आगामी मङ्सिर १२ गते विवाह पञ्चमीका दिन विशेष समारोह  आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका सचिव डा भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *