रिबन

मुख्य समाचार : बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गरेको हो ।

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेसका नेताहरुको भाग खोस्ने हो भने प्रचण्डसँग लड्न किन नजाने ? भन्दै प्रश्न गरेका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रचण्डले आफूहरुको भाग खोस्ने हो भने उनीसँगै प्रतिस्पर्धा गर्ने बताए । सिट बाँडफाटमा आफू आकांक्षी रहेको क्षेत्र माओवादीलाई दिन खोजिएकोमा असन्तुष्टि जनाए ।

निर्वाचन आयोगले भोलि (बुधबार) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । उनले भने, ‘आज राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’

निर्वाचन आयोगले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी गरेको छ । २०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । नयाँ प्रस्ताव अनुसार प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने छन् ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छन् । ट्रुडो नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तानको १२ दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्ने भएकी हुन् ।

इटालीमा भएको राष्ट्रिय चुनावमा अति दक्षिणपन्थी ब्रदर्स अफ इटालीको गठबन्धनले बहुमत ल्याएको छ । यसको अध्यक्ष, जर्जिया मेलोनी, देशको नेतृत्व गर्ने पहिलो महिला हुने भएकी छन् । दोस्रो विश्वयुद्धपछि उनी पहिलो दक्षिणपन्थी प्रधानमन्त्री हुने छिन् । इटाली युरोपेली संघको संस्थापक सदस्य मात्र नभएर तेस्रो ठूलो अर्थतन्त्र पनि हो ।

बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८ औं मिनेटमा पहिलो, २७ औं मिनेटमा दोस्रो र खेलको ३८ औं मिनेटमा गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरेका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेका छन् । वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि बोल्दै ब्लिन्केनले यो कठिन समय रहेको र अमेरिकाले सधैं कठिन समयमा पाकिस्तानको सहयोग गर्दै आएको बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *